चितवन विशेष
चितवन मेडिकल कलेजको लुट विरुद्ध विद्यार्थीको निरन्तर प्रदर्शन,माग पुरा नभए ठप्प पार्ने चेतावनी

चितवन, भदौं २२-
चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले आज (आइतवार) पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सीएमसीले सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क असुलेको विरोधमा एक हप्ता अघिदेखि आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले कलेज परिसरमा विरोध ¥याली गरेको हो । कलेजबाट सुरु भएको मार्चपास चौबिसकोठी हुँदै बजार परिक्रमा गरेर पुल्चोक पुगेको थियो । प्रदर्शनमा विद्यार्थीले मेडिकल माफियाको विरुद्ध विभिन्न नारा, गीत, प्यारोडी तथा कविता प्रस्तुत गरेका छन् ।

विद्यार्थीले प्रदर्शनमा प्रहरी धरपकड गरेको भन्दै सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा साउन १८ गते तालाबन्दी गरेका थिए । कलेज प्रशासनले प्रहरी लगाएर अस्पतालको क्लिनिक ब्लकको ताला फोडे पनि कैलाशनगरमा भने अहिलेसम्म पनि तालाबन्दी नै छ । अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटकपटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । उनीहरुले कलेजले विगतदेखि असुलीरहेको अवैध शुल्क फिर्ताको माग पनि राखेका छन् ।
सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले अबैध असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख रुपैयाँ र उपत्यका बाहिर साढे ४४ लाख रुपैयाँ शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।

संघर्ष समितिले देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियानअघि बढाएको जनाएको छ । यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले नारायणी अनलाइनसँग कुरा गर्दै देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको बताए । उनले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको दाबी गरे ।
तर, संघर्ष समितिका अध्यक्ष चन्दले भने मेडिकल कलेजको समस्या समाधान खोज्न नचाहेर प्रवन्ध निर्देशक न्यौपाने भागिरहेको आरोप लगाए । उनले भने,‘ शिक्षा मन्त्रालयको निर्देशन बमोजिम विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने ७५ प्रतिशत छात्रवृत्ति पनि कलेजले उपलब्ध गराएको छैन । मेडिकल शिक्षामा भर्ना, शुल्क र इन्टर्नशिप सबैतिर एकरुपता ल्याउनुपर्ने भने पनि चितवन मेडिकल कलेजले यसलाई बेवास्ता गरेको बताउँछन् ।’ कलेजले लिने हरेक शुल्कमा दोब्बर वृद्धि गरेको भए पनि कलेजका कर्मचारी, डाक्टर र नर्सको सेवा सुविधामा कुनै वृद्धि नगरेको उनले बताए । उनले भने, ‘चितवन जिल्ला डेँगुले आक्रान्त भइरहँदा अन्यत्र ३०० पर्ने कीटलाई एक हजार ८०० रुपैयाँ लिनु पक्कै पनि कलेजको माफिया नै हो । अस्पतालमा हिजोसम्म ५०० रुपैयाँ लिने सामान्य बेडको चार्ज अहिले एक हजार रुपैयाँ बनाएको छ । हाम्रो आन्दोलन यही गलत प्रवृत्तिको विरुद्ध नै हो ।’ माग सुनुवाई नभए कलेज ठप्प पार्ने उनले चेतावनी दिए ।

























