क्रिकेट
बंगलादेशलाई नेपालले दियो २६२ रनको चुनौती

काठमाडौं भदौ २२-
सन्दीप जोराको विस्फोटक ब्याटिङसँगै पवन सराफको अर्धशतक प्रेरित नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । सेमिफाइनलको यात्रा जिवित राख्नका लागि बंगलादेशविरुद्ध जित्नैपर्ने दबाबमा रहेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६१ रनको बनाएको हो ।
नेपालका लागि सन्दीप जोरा र पवन सराफले अर्धशतक बनाए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका सन्दीप ५६ रन बनाउँदै तानजिम हसनको बलमा क्याच भए ।
पवनले सर्वाधिक ८१ रनको योगदान दिए । रित गौतमसँगै ओपनिङमा आएका पवनले १ सय ११ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ८१ रन बनाएका थिए । उनी मोहम्मद मृत्युन्जयको बलमा एमडि अकबर अलिमार्फत् क्याच भए ।
रित गौतम ३२ रनमा रकिबल हुसेनको शिकार हुँदा कुसल मल्लले २८ रनको योगदान दिए । कप्तान रोहित कुमार पौडेलले १४ रन बनाए । मोहम्मद आसिफ शेखले ४ रनमात्र बनाउन सके । रोहित मोहम्मद सहिनको बलमा एमडि अकबर अलिमार्फच् क्याच हुँदा आसिफ पनि क्याचको सिकार नै भएका थिए ।
सन्दीप जोरालाई साथ दिएका भिम सार्की २१ रनमा पवेलियन फर्किए । रासिद खानले ६ तथा कमलसिंह ऐरीले ९ रन बनाए । बंगलादेशका तानजिम हसन र मोहम्मद साहिनले २–२ विकेट लिए । रकिबल हुसेन, मोहम्मद मृत्युन्जय र मिनहजुर रहमानको नाममा १–१ विकेट रह्यो ।
२ सय ६२ रनको लक्ष्य पाएको टेष्ट मान्यता प्राप्त बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा ५ विकेटको हार व्यहोरेको नेपाललाई सेमिफाइनलको सम्भावना जिवित राख्न जित्नैपर्ने दबाब छ । नेपालले अर्को खेल युएइविरुद्ध खेल्नेछ । आजको खेलमा हारेको अवस्थामा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ ।
























