चितवन विशेष

चितवनमा डेँगुको त्रास: लामखुट्टे ‘खोज र नष्ट गर’ नै प्रमुख उपाय

Banner

निशा श्रेष्ठ

चितवन भदौ १७-

चितवनमा पछिल्लो समयमा महामारीको रुपमा डेँगु रोग फैलिरहेकोले नियन्त्रणका लागि ‘खोज र नष्ट गर‘ नै प्रमुख उपाय भएको विज्ञहरुले सुझाएका छन् ।

भरतपुर महानगरमा आज भएको डेँगु नियन्त्रणसम्बन्धी अन्तक्र्रियामा महानगर प्रमुख रेनु दाहालले महानगरले सरसफाइका कार्यक्रमहरु गरिरहेको बताइन् । उनले डेँगु नियन्त्रणका लागि माइकिङ गरेर जनचेतना जगाइरहेको जानकारी दिइन् । मेयर दाहालले डेँगुको लागि भनेर बजेट नछुट्याइए पनि यस विषयलाई गम्भीरताका साथ लिइरहेको दाबी गरिन् । उनले डेँगु परीक्षणका लागि महानगरले एक हजार कीट सहयोग गर्ने आश्वासन दिइन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट श्रीराम तिवारीले ६८२ जनाको निःशुल्क रुपमा डेँगु परीक्षण गरिएको जानकारी दिए । उनले अस्पतालमा कीट स्वास्थ्य मन्त्रालयसँग माग गरिहे पनि बिरामीको मागअनुुसार उपलब्ध नभएको बताए । उनले बिमा गरेको अवस्थामा डेँगुको निःशुल्करुपमा उपचार भइरहेको पनि जानकारी दिए ।  चितवन जिल्ला जनस्वाथ्य प्रमुख दिपककुमार तिवारीले हाल चितवनमा ६८७ डेँगुका बिरामी रहेको जानकारी दिए । उनले सबैभन्दा बढी भरतपुर अस्पतालमा भर्ना भएको बताए ।

वरिष्ठ जनस्वाथ्य प्रशासकीय अधिकृत शम्भु ज्ञवालीले प्रदेश न ३ सबैभन्दा बढी प्रभावित भएको जानकारी दिए । उनले यसकोे लागि घर वरपरको सरफाई तथा वरिपरी खुला पानी नराख्ने र पानी जम्न दिन नहुने सुझाए । यस्तै डेँगु रोग र यसको प्रभावबारे प्रतिवेदन प्रस्तुत गर्दै उनले हालसम्म १२८ वटा देशमा डेँगुको प्रकोप फैलिएको जानकारी दिए । कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार विश्वमा प्रत्येक वर्ष ३९ करोड व्यक्ति यसबाट प्रभावित हुने देखिएका छन् ।

प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वाथ्य प्रशासक बसन्त अधिकारीले कीट अभावमा पनि सामान्य रगत जाँचबाट पनि डेँगु परीक्षण गर्न सकिने जानकारी दिए । महामारीको बेला प्राइभेट अस्पतालहरुमा डेँगु परीक्षणका लागि शुल्क निर्धारणका लागि महानगरले पहल गर्नुपर्ने उनले सुझाव दिए । उनले डेँगु नियन्त्रण गर्नका लागि अस्पताल महानगर मात्रै नभएर टोल विकास संस्था, वडाकार्यलयले पनि त्यत्तिकै अभियान थाल्नुपर्ने बताए ।

वीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले विधालयहरुमा परिचालन गरेर सचेतना जगाउन सक्ने बताए । स्वाथ्य निर्देशनालय प्रदेश ३ का निर्देशक रमेश अधिकारीले डेँगुको लार्भा प्युपा जम्मा हुने स्थान खोजी नष्ट गनुपर्ने विचार राखे । त्यस्तै डेँगु महामारी सम्बन्धमा अस्पताले नियमित रिपोटिङ गर्नुपर्ने उनको सुझाव थियो । चितवनमा साउनको पहिलो हप्तादेखि डेँगु देखिएको हो । अहिलेसम्म चितवनमा स्क्रफटाइफस र डेँगुबाट चार जनाको मृत्यु भइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>