चितवन विशेष
भरतपुरमा डेँगु महामारीको जोखिमः नियन्त्रणका लागि महानगरको सचेतना र्याली

चितवन, भदौं १४-
चितवनमा डेँगु महामारीको जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिकाले आज सचेतना र्याली गरेको छ ।
अभियानअन्तर्गत आज बृहत् जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो । सचेतनासहित महानगरको कार्यालयबाट निस्किएको प्रभातफेरी, सहिदचोक, कमलनगर, न्युरोड हुँदै पुलचोक र त्यहाँबाट पोखराबसपार्कमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा फिजिसियन डा. भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत रहनुपर्ने र घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने र यसको केही लक्षण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गइहाल्नु पर्ने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै उनले यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने समेत बताए । उनले आफ्नो घर, आँगन, होटल, बसपार्क, गाडी ग्यारेज सबैतिर विशेष निगरानी गरी यस्तो लामखुट्टे रहने स्थानहरुमा सरसफाइ गरी यसलाई हुर्कन नदिन आग्रह गरे ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुप हुन नदिने बताउँदै यसको न्यूनीकरणमा महानगर निकै चनाखो रहेको बताइन् । उनले हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो । डेँगु नियन्त्रणका लागि आजैबाट हरेक नागरिक चनाखो र सचेत नभए यो रोग नियन्त्रण बाहिर पुग्ने र त्यसले ठूलो क्षति गर्ने सरकारी अधिकारीहरु बताउँछन् ।
चितवनमा डेँगु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका छन् । कार्यालयका अनुसार साउन यता डेँगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रबटाइफसका कारण एक युवाको मृत्यु भएको छ । डेंगु र स्क्रबटाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षमा एक हजार ३५६ जनाको परीक्षणमा ४५० जनामा डेंगुको संक्रमण देखिएको बताइएको छ । चितवनमा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ । अहिले लामखुट्टे कम भए पनि डेँगुको संक्रमण गराउने लामखुट्टेको संख्या बढिरहेको र यसको संक्रमणको अत्याधिक जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।
चितवनमा देखिएको डेँगुको यो अवस्थालाई महामारीका रुपमा विकास हुन नदिन सबै निकाय र प्रत्येक ब्यक्ति आफै सचेत र चनाखो हुनुपर्ने चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि समयमै उपचारमा ध्यान दिन नसके मानिसको मृत्यु नै हुने भएकाले नियन्त्रणका लागि हरेक ब्यक्तिले आफ्नो घर, आँगन टोल छिमेकमा यो जातको लामखुट्टे फैलन नदिनु नै सबैभन्दा सजिलो उपाय भएको जनस्वास्थ्य अधिकारीहरु बताउछन् । घर, आँगन, टोल, छिमेकमा रहेको पानी जम्ने खाडलहरु पुर्ने, भाँडाहरुमा पानी जम्न नदिनु नै यसबाट बच्ने उपाय भएकाले हरेक नागरिक यसमा चनाखो रहन आवश्यक रहेको अधिकारीहरुको भनाइ छ ।