राजनीति
चिनियाँ ठेकेदारलाई रथमा राखेर पोखरा घुमाउन पर्छः पर्यटनमन्त्री

पोखरा,भदौं ११-
पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ्न् । विमानस्थलको पछिल्लो भौतिक प्रगतिबारे पनि उनले जानकारी लिए ।विमानस्थल आयोजना प्रमुख विनेस मुनकर्मीले हालसम्म ४५ प्रतिशत भौतिक संरचना लगायतको काम सम्पन्न भएको जानकारी दिए । जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।
केही क्षेत्रमा कडा चट्टान फेला परेकोले ब्रेकर र बिस्फोटक पदार्थ प्रयोग गरी काम गरिएको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए । ‘रन वे’ निर्माणको काम वैशाख पहिलो सातामा मै सम्पन्न भएको थियो । २ हजार ५ सय मिटर लम्बाई, ४५ मिटर चौडाइ भएको ‘रन वे’ को सिमेन्टेड ढलान ३४ सेन्टिमिटरको रहेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।
झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन विमानस्थलको काम यहिस्तरमा भइरहे सम्झौता समयको ६ महिना अगावै निर्माण सम्पन्न हुने आयोजना पक्षले मन्त्री समक्ष जानकारी दिएको छ ।
पोखरा विमानस्थल तोकिएको समय अगावै सम्पन्न भएमा चिनियाँ ठेकेदारलाई पोखरेलिले सम्मान गर्नुपर्ने मन्त्री भट्टराईले बताए । ‘घर परिवार छोडेर महिनौँदेखि हाम्रो विकासका लागि खटिनु भएको छ,’ उनले भने, ‘म पोखरा महानगरलाई पनि आग्रह गर्छु । चिनियाँ कम्पनीले समय अगावै विमानस्थलको काम सके पछि रथमा राखेर पोखरा परिक्रमा गराउनुपर्छ ।’
























