देश/प्रदेश

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो छैनः निजी चिकित्सक शर्मा

Banner

काठमाडौं, भदौं ५- 

प्रधानमन्त्री केपीशर्मा ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिसमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।

बिहीबार रिपोटर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जीकिर गरे । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो । उनकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाइ ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंहसँगै गएकी छिन् ।

साक्षात्कारमा डा. शर्माले सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचारसमेत गरिने जनाए । उनकाअनुसार प्रधानमन्त्रीको क्रेटिनाइन अहिले २ को हाराहारीमा छ । उनले भने,‘उहाँको मृगौला स्थिर छ ।’ सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाइ छ ।

कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराइरहने पनि विश्वास दिलाए ।  वरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाइन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाइ छ ।

डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे । उनले भने,‘देश डुबाउने गरी खर्च हुँदैन । यो खर्चिलो उपचार होइन ।’ यद्यपि उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई निःशुल्क डाइलाइसिसको सुविधा दिलाउने कामको जस पनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए ।

डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधिले पनि काम नगर्ने जनाए । तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिने उनले बताए । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने बताए । उनकाअनुसार कम्तिमा पनि ६ पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने, ‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’ श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतिको भने विरोध गरे । विदेश उपचारमा जानैपर्ने भए पनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतिलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>