देश/प्रदेश
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनतालाई जानकारी दिनुपर्छ: डा. दीक्षित

काठमाडौं, भदौ ३-
डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने विचार राखेका छन् ।
रिपोटर्स क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा उनले भने, ‘केपी ओली दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ बिरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो ।’ दीक्षितले ओली नभए मुलुकमा अस्थिरता उत्पन्न हुने पनि बताए । उनले भने, ‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ति निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुप¥यो नि । हुन त उहाँ औषधिको मात्रा मिलाउन फेरि जान लागेको भन्ने कुरा आएको छ । अहिले इन्टरनेटको जमाना छ । भाइबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सूचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाँको टिमको गल्ती हो ।’
साक्षात्कारमा प्रधानमन्त्री केपीशर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । उनले भने, ‘बैठक राम्रो र सकारात्मक हुन्छ ।’
नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्यपि उनले कतिपय विषयहरु समाधानउन्मुख रहेका पनि जीकिर गरे ।
भारतको कश्मिरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घट्नामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पारे । उनले थपे,‘सबै विषयमा टिप्पणी गर्नुपर्छ भन्ने छैन ।’ डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए । उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधिको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जीकिर गरे । उनले जाने मिति तय भए पनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए । कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताएका छन् ।