देश/प्रदेश
दुर्घटनामा पत्रकार अधिकारीको मृत्यु

सप्तरी, साउन ३२–
रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक पत्रकारको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा १६ प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपाल रुपन्देही तथा बुटवल टुडेका संवाददाता ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
प्रहरीका अनुसार उछिन्ने क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स ११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेर स्कारपियो पल्टिएको हो । सुमो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक रुपन्देही सियारी गाउँपालिका ५ का ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् ।
कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकोमा, थारुको टाउको र अनुहारमा र चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । घाइतेमध्ये चालक भण्डारी गम्भीर रहेको उनले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।
























