राजनीति
सरकारको कामको अहिले विश्वभर प्रशंसा भइरहेको छः मन्त्री महासेठ

काठमाडौं, साउन २७-
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भइरहेको बताउनुभएको छ । अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको बताउनुभयो । काठमाडौमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी पनि गर्नुभयो ।
सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ । मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको जिकिर गर्नुभयो । उहाले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गर्नुभयो ।
मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताउनुभयो । महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पार्नुभयो ।