देश/प्रदेश

दसैँका लागि खसी र च्याङग्रा ल्याउने तयारी, पाँच करोड विनियोजन

Banner

काठमाडौं, साउन २७-

खाद्य संस्थानले दसैँको लागि करिब तीन हजार खसी र च्याङ्ग्रा तिब्बतबाट ल्याउने तयारी सुरु गरेको छ।

संस्थानले तीन हजार खसी र च्याङग्रा किन्न आपूर्ति मन्त्रालयसँग पाँच करोड रुपैयाँ आवश्यक पर्नेछ भने सुपथ मूल्यका पसलका लागि एक करोड ७५ रुपैयाँ आवश्यक पर्ने संस्थानको अनुमान छ । संस्थानकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले खसी र च्यांग्रा ल्याउन प्रकृया अघि बढिसकेको बताइन्। उनका अनुसार खसीका लागि दुई करोड र च्याङग्राका लागि दुई करोड ५० लाख विनियोजन गरिएको छ। ढुवानी समेत गर्दा यो लागत पाँच करोड पर्ने संस्थानको अनुमान छ।

संस्थानको अब बस्ने बोर्ड बैठकले सो योजनालाई पास गर्नेछ। संस्थानले बजार हस्तक्षेपको नीति अनुसार दशैंमा बर्सेनि खसी र च्याङग्रा ल्याएर बिक्री गर्दै आएको छ।संस्थानले बिक्री गरेकै कारण मूल्य अस्वभाविक रुपमा बढ्न पाउँदैन्।

बर्सेनि बजार मूल्यलाई बढ्न नदिन खाद्य तथा चौपायको व्यवसाय गर्दै आएको छ। गत वर्ष दुई हजार खसी र च्याङ्ग्रा बिक्री गरेको संस्थानले यो वर्ष ५० प्रतिशत बढाएर संस्थानले तीन हजार पु¥याएको हो। यो वर्ष खसी लाहान, नेपालगंज र मकवानपुरबाट ल्याउने तयारी छ भने च्याङग्रा मुस्ताङबाट ल्याइनेछ। खसी र च्याङ्ग्रा खरिद गर्न संस्थानले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्राथमिक खरिद समिति गठन हुनेछ । सो समितिमा कृषकसहित खाद्य संस्थानको प्रतिनिधि सदस्य सचिव रहनेछ। यसरी गरिएको मूल्य निर्धारणबाट संस्थानले सोझै खसी तथा च्याङग्रा खरिद गर्नेछ। यसरी खरिद गरिएको चौपाया काठमाडौंसम्म ढुवानी गर्न भने संस्थानले टेन्डर आव्हान गर्नेछ । टेन्डर प्रकृया सबैभन्दा कम मूल्य तोक्ने ढुवानी व्यवसायीले संस्थानको थापाथली डिपोमा ल्याउनेछ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै दैनिक १२ सय खसी बोका खपत हुने संस्थानले जनाएको छ। जसमा ४०० आन्तरिक उत्पादन हुन्छ भने ७ सयदेखि ८ सय खसीबोका भारतीय बजारबाट भित्रिँदै आएका छन्।

यस्तै ७०० देखि ८०० रागाँभैसी उपत्कामा खपत हुँदैं आएकोमा ९० प्रतिशत माग आन्तरिक उत्पादनले धान्दै आएको छ भने १० प्रतिशत भारतीय बजारबाट आउने गर्छन्। यसैगरी दैनिक तीन लाख देखि तीन लाख ५० हजार केजी कुखुराको मासु खपत उपत्यकामा हुन्छ। कुखुराको माग भने आन्तरिक उत्पादनलेनै धान्छ। उपत्यकामा माछा दैनिक चार देखि पाँच हजार केजी खपत हुने गर्छ। जसमा ४० प्रतिशत आन्तरिक उत्पादन र ६० प्रतिशत बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था छ। यस्तै शतप्रतिशत आन्तरिक उत्पादन हुने बंगुर दैनिक ६०० गोटा खपत हुने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>