चितवन विशेष
भूपू सैनिक श्रीमती संघ चितवनको अध्यक्षमा लामा

चितवन, साउन २५-
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ चितवनले नयाँ इकाइ गठन गरेको छ ।
शनिबार भरतपुर महानगरपालिका–४ लंकूमा भएको भेलाले मुना लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गर्दै नयाँ इकाइ गठन गरेको हो ।
क्षेत्र नम्बर ३ को इकाइ नम्बर २ अन्तर्गत रहने गरी गठन भएको समितिको उपाध्यक्षमा चन्द्रकला पौडेल, सचिवमा सीता कुमारी बराल र कोषाध्यक्षमा अनिता ढकाल चयन भएका छन् । नेपाली सेनामा लामो समय कार्यरत रही अवकाश भएका सैनिकको गुनासो सुन्ने र अप्ठ्यारो अवस्थामा समन्वय गर्नका लागि गठन भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले अवकाश प्राप्त सैनिकका श्रीमतीलाई समेत एकताबद्ध गर्ने र विभिन्न तालिम दिनका लागि भूपू सैनिक श्रीमती संघ गठन गरेको जिल्ला अध्यक्ष मुधुसूदन ढकालले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको ३, ४ र १० नम्बर वडालाई समेटेर गठन भएको इकाइले यसअघि नै मन्टेश्वरी, सिलाई क्षमता विकास जस्ता तालिम प्रदान गरिसकेको श्रीमती संघ जिल्ला अध्यक्ष शारदा ढकालले जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथि रहेकी कालीबहादुर गण भरतपुरका सेनानी उपेन्द्र पुडासैनीले आफनो शरिर नै राष्ट्रको लागि दिन तयार सेना र उसलाई साथ दिने सैनिकका श्रीमतीलाई पछिल्लो समय सरकारले समेत सहयोग गर्दै विभिन्न तालिमहरु सञ्चालन गरेका कारण त्यसको सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा कालीबहादुर गणका सेनानी तथा सूचना अधिकृत पूर्णबहादुर थापा, जिल्ला सहसचिव दधिराम देवकोटा, कोषाध्यक्ष टंक सापकोटा, क्षेत्रीय अध्यक्ष गंगाबहादुर थापा, इकाइ २ सचिव शम्शेरबहादुर कुँवरलगायतको आतिथ्थ्तता रहेको थियो । कार्यक्रम इकाइ अध्यक्ष चन्द्रप्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।