देश/प्रदेश

राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ: अध्यक्ष जबरा

Banner

काठमाडौं, साउन २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निष्पक्ष हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिका दिनुपर्ने बताएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निष्पक्ष हुन नसकेको औंल्याए । उनले भने,‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भइसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन ।’

साक्षात्कारमा अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि शौंखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए । उनले भने,‘राष्ट्रपतिले आफ्नो सोख पूरा गर्नको लागि अहिले पुलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।’

उनले निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पूरानो संस्थालेमात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने, ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं । यसमा बहस पैरवी हुनुपर्छ ।’ उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे । उनले भने,‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ । हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने,‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन् । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहीँ हुँदैन । राजाले म फर्किन्छु भनेर हिँडेको छैन । उहाँले भाषण गरेको छैन । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।’ पूर्वराजासँग ओली र प्रचण्ड तर्सिएका हुन त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले प्रष्ट्याए,‘उहाँहरु किन तर्सिनुहुन्छ, त्यो त उहाँहरुले जान्ने कुरा हो । मैले कसरी विश्लेषण गर्नु ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>