देश/प्रदेश
फोनिजले चार पत्रकारलाई पुरस्कृत गर्ने

काठमाडौं, साउन २४–
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । फोनिज स्थापना दिवसको अवसरमा यही साउन २७ गते एक भव्य समारोहकाबीच पुरस्कार प्रदान गरिनेछ ।
उनीहरुलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट नगद सहित पुरस्कृत गरिने फोनिज महासचिव मनोज घर्ती मगरले जानकारी दिए । पुरस्कार छनौट समितिले पुरस्कृत हुने पत्रकारहरुको नाम टुंगो लगाएको हो । यसवर्ष ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकारहरु कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) विधामा पुरस्कृत हुने महासचिव मगरले जानकारीले दिए ।
पुरस्कार यही साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘२०औं स्थापना दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह–२०७६’ कार्यक्रममा प्रदान गरिनेछ । पुरस्कारको राशी जनही २० हजार हरुपैयाँ रहेको छ ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रम साउन २७ गते मध्यान्ह १२ः३० बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिनेछ । उत्त समारोहमा फोजिनका संस्थापकदेखि पाँचौं महाधिवेशनसम्मका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिने फोनिजले जनाएको छ ।
पुरस्कृत पत्रकारको संक्षित विवरणः
कौशल चेम्जोङ (रेडियो, त्रियुगा एफएम, उदयपुर)
२०४५ सालबाट दृष्टि साप्ताहिकमार्फत पत्रकारिता सुरुवात गरेका कौशल चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकको निरन्तर पत्रकारिता यात्रामा उनले ‘टंकेला साप्ताहिक’को सम्पादक÷प्रकाशक हुँदै ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । प्रारम्भदेखि हालसम्म जनआस्था साप्ताहिकको वरिष्ठ संवाददाताको रुपमा कार्यरत चेम्जोङ रेडियो त्रियुगामा स्थापनाकालदेखि नै स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् । चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उप–सभापति समेत हुन् ।
गणेश राई (छापा, कान्तिपुर दैनिक, काठमाडौं)
कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक गणेश राई लामो समयदेखि आदिवासी जनजातिको मुद्दामा कलम चलाउँदै आएका छन् । २०५० देखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गरेका राईले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरि सकेका छन् । २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गरेका राई ‘किरात राई पत्रकार संघ’का संस्थापक अध्यक्ष हुन् । उनी फोनिजको सल्लाहकार छन् ।
राजबहादुर गुरुङ (अनलाइन, यूनाइटेडखबर डटकम, कास्की)
२०५१ सालबाट पत्रकारितामा सक्रिय राजबहादुर गुरुङ पोखराबाट प्रकाशित÷सञ्चालित यूनाइटेड दैनिक र यूनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन् । जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजनलगायतमा काम गरिसकेका गुरुङ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व उपाध्यक्ष समेत हुन् । उनी फोनिजको सल्लाहकार हुन् ।
शोभा श्रेष्ठ (टेलिजिभन, नेपाल टेलिभिजन, काठमाडौं)
नेपाल टेलिभिजनमा वरिष्ठ समाचार सम्पादकको रुपमा कार्यरत शोभा श्रेष्ठ लामो समयदेखि आदिवासी जनजातिको विषयमा कलम चलाउँदै आएकी छिन् । आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रितिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएकी श्रेष्ठ नेवाः पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरि सकेकी छिन् ।