चितवन विशेष
चितवनमा सडक निर्माणको गति सुस्त, एक वर्षमा ५० प्रतिशत मात्रै काम

चितवन, साउन २३-
सडक डिभिजन कार्यालय भरतपुरको वार्षिक प्रगती न्यून देखिएको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत मात्र प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।
साँढे ५५ किलोमिटर सडक कालोपत्रे लक्ष्य लिएको कार्यालयले २२ किलोमिटर मात्र सडक कालोपत्रे गर्न सफल भएको छ । सडक पूर्वाधार आयोजनामा ४, चेपाङ मार्गको १५, हुलाकी राजर्मागको ११, रणनीतिक सडक पुर्नस्थापना तथा सुधार ३ दशमलव ५, दक्षिणी सीमा नाका जिल्ला सदरमुकाम पूर्व पश्चिम जोड्ने सडकहरु १० दशवलव ५, सडक बोर्ड नेपाल अन्तर्गत विभिन्न रणनैतिक सडक खण्डहरुको मर्मत सम्भारमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना सडक डिभिजन कार्यालयले राखेको थियो ।
त्यस मध्ये शारदानगरदेखि चनौलीसम्मको सडक र हुलाकी राजमार्ग, दक्षिणी सीमा नाकाहरुको कालोपत्रेको काम सुरु नै हुन नसकेको सूचना कार्यालयका सूचना अधिकारी ईन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । चेपाङ मार्गको ७, सडक बोर्ड नेपाल अन्तर्गत विभिन्न रणनैतीक सडक खण्डको १४ किलोमिटर सडक कालोपत्रे भएको ईन्जिनियर आचार्यले जानकारी दिए ।
‘सडक डिभिजन कार्यालय चितवनले धादिङ र चितवन जिल्लाका सडक हेर्ने गर्दछ । कार्यालयले सञ्चालन गरेका काम मध्ये दक्षिणी सीमा नाका जिल्ला सदरमुकाम पूर्वपश्चिम जोड्नका लागि नयाँ ट्रयाक निर्माणको काम शतप्रतिशत भएको छ,’ सूचना अधिकृत आचार्यले भने, ‘ग्राभेल सडक निर्माणको काम पनि लक्ष्य भन्दा बढी काम गरेका छौँ ।’ २८ दशमलव ५० किलोमिटर ग्राभेल गर्ने लक्ष्यमा ३१ दशमवलव ५१ किलोमिटर गरेको उनले जानकारी दिए ।
स्थानीय पुलहरुको काम भने केही सन्तोष जनक रहेको छ । पुलको वित्तिय प्रगति केलाउँदा ८० प्रतिशत प्रगति भएको देखिन्छ । कार्यालयले सडक, पुल निर्माण गर्दै आएको छ । तर, कार्यालयको गत आर्थिक वर्षको वित्तिय प्रगति पनि न्यून देखिन्छ । ५० दशमलव १७ प्रतिशत मात्र वित्तिय प्रगति भएको छ । यी सडक तथा पुल निर्माण र मर्मतका लागि एक अर्ब २२ करोड २७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये ६१ करोड ३४ लाख ४९ हजार रुपैयाँ खर्च भएको ईन्जिनियर आचार्यले जानकारी दिए ।
यसै वर्ष गरिएको कर्मचारी समायोजन र पटकपटक कार्यालय प्रमुखको सरुवाको कारण लक्ष्य अनुसार प्रगति हासिल नसकेको उनले बताए ।
‘हामीलाई समयमा बजेट निकासा हुँदैन, टेन्डर निकालेर कामको काम सुरु गर्न लाग्दा तीन महिना लाग्छ,’ उनले भने, ‘खरिद ऐनको छैटौं तथा सातौ संशोधन नभएसम्म सडक तथा विकास निर्माणका कामहरु लक्ष्य अनुसार गर्न सकिँदैन ।’ आर्थिक वर्षको अन्त्य तिर अलकत्रा अभावका कारण पनि कालोपत्रे समयमा हुन नसकेको उनले बताए ।
आगामी दिनमा समयमै बजेट निकासा गर्ने हो र निर्माण सामग्रीको उपलब्ध गराउने हो लक्ष्य अनुसार काम गर्न सकिने उनले बताए । ‘चाडपर्व भन्दा अगाडी बजेट निकासा भएर ठेक्का लगाउन सकियो भने हिँद भरि काम हुन्छ । हाम्रोमा फागुनबाट योजनाहरु आउँछन् । समय न्यून हुन्छ । ठेक्का पट्टा लगाउँदैमा समय सकिन्छ,’ उनले भने, ‘यसरी अन्तिम समयमा आएर काम लगाउँदा गुणस्तर पनि हुँदैन । काम सक्न पनि कठिन हुन्छ ।’
राज्यले सडकमा अधिक पैसा खर्च गर्ने गरेको छ । तर, पनि सोचेअनुरूप काम भएका छैनन् । त्यसकारण राज्यले आगामी दिनमा समयमा बजेट निकासा गर्ने र आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सक्ने हो भने लक्ष्य अनुसार काम गर्न सकिने उनले बताए ।
फोटोः फाइल