देश/प्रदेश

ललितानिवास जग्गा प्रकरण ओझेलमा पर्दैन, नतिजा आउँछ: मन्त्री पदमा अर्याल

Banner

काठमाडौं, साउन २२-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुसन्धानको काम भइरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् ।

बुधबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे आज पनि काम भइरहेको सुनाइन् । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको सुनाइन् । उनले भनिन्, ‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन ।’ साक्षात्कारमा उनले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गरिन् । उनले भनिन्,‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यही अनुसारको नतिजा आउँछ ।’ मन्त्री अर्यालले नेपालका सीमा स्तम्भको बारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र नापी विभागमार्फत अनुगमन भइरहेको छ । जसरी बाहिर सीमा स्तम्भ हराएको हल्ला आएको छ, त्यस्तो अवस्था होइन ।’

नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको कुराबारे टिप्पणी गर्दै उनले पार्टीले भाडा तिरेर बसेको सुनाइन् । उनले भनिन्,‘पार्टीले निश्चित् शुल्क तिरेर बसेको छ । यो प्रकृतिको जग्गा लिज सिष्टममा जानको लागि पत्राचार भइसकेको छ । यदि लिज सिष्टममा गएन भने भोगाधिकार अन्त्य हुन्छ ।’ उनले २०७१ सालमै लिज नीति पारित भएकोले अब आफूहरुले लिज सिष्टममा लैजाने पनि बताइन् । मन्त्री अर्यालले सरकारले भूमिको समुचित उपयोग र व्यवस्थापन गर्ने गरी भू–उपयोग विद्येयक ल्याएको पनि सुनाइन् । नेपालमा अहिलेसम्मको अवस्था हेर्दा भूमि व्यवस्थापन सम्बन्धी एउटामात्रै कानून प्रयोग नभएको पनि अर्यालले स्पष्ट पारिन् ।  उनले भनिन्,‘भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कानूनहरु प्रयोग भएका छन् । भूमिको व्यवस्थापनको लागि एउटा मात्रै कानून पर्याप्त छैन् । धेरै कानून आवश्यक छन् ।’ भूमिको व्यवस्थापन र समुचित प्रयोगको लागि नै वर्तमान सरकारले पहिलोपटक भूमि ऐन ल्याएको उनले दाबी गरिन् ।
उक्त विद्येयकमा जमिनको प्रयोग, वर्गीकरणलगायतका विषयहरु समेटिएको पनि उनले जनाइन् । मन्त्री अर्यालकाअनुसार उक्त विद्येयकमा जमिनको अधिकतम प्रयोगमा जोड दिइएको छ । त्यस्तै, जनताको सहभागितामा जमिनको एकीकरणबारे पनि विद्येयकमा जोड दिइएको उनले सुनाइन् । उनले भनिन्,‘जमिनको चक्लाबन्दीलाई एकीकरण गर्छौं । कृषि, पशुलगायतका फार्म सञ्चालनमा ल्याउँछौं । सरकारले सबै जमिनको प्रयोग गर्नुपर्छ भन्ने नीति लिएको छ । यदि बाँझो जमिन बाँकी रह्यो भने पनि सरकारले जनतासँग लिजमा लिएर त्यसको उपयोग गर्छ ।’

त्यस्तै, उनले हिजो पारित भएको विद्येयकमा भूमि बैँकको पनि परिकल्पना गरिएको जनाइन् । उनले भनिन्,‘भूमि बैँकको अहिले परिकल्पनामात्रै गरिएको हो । कस्तो बनाउने भन्नेबारे हामी छलफलमा छौं । अन्तर्राष्ट्रिय मापदण्डहरु पनि हेर्छौं । जे गर्दा देश र जनताको हितमा हुन्छ, हामी त्यहीअनुसारको भूमि बैँक बनाउँछौं ।’ मन्त्री अर्यालले सरकारी जग्गा, जमिन अतिक्रमण र कब्जा गर्ने कामलाई वर्तमान सरकारले रोकेको दाबी गरिन् । उनले भनिन्,‘हिजो अतिक्रमण र कब्जा गरिएका सरकारी जग्गा यो सरकार आएपछि फिर्ता लिने प्रक्रिया अघि बढाएको छ । त्यसैको ज्वलन्त उदाहरण हो बालुवाटारको ललिता निवासको जग्गा प्रकरण ।’ सरकारले शक्तिशाली आयोग बनाएर उक्त प्रकरणलगायत अन्य विषयमा अध्ययन, अनुसन्धान तथा कारबाहीको काम अघि बढाइरहेको पनि उनले जनाइन् ।

सरकारले अहिले भूमिको व्यवस्थापनको लागि छुट्टै खालको सफ्टवेयर पनि विकास गरेको उनले सुनाइन् । उनले भनिन्,‘भूमि व्यवस्था विभागमार्फत अब सफ्टवेयरले जग्गा दर्तालगायतका काम गर्दछ । अब पहिलेजस्तो सरकारी जग्गा अतिक्रमण गर्ने, कर्मचारीको मिलेमतोमा कब्जा गर्ने काम बन्द भएको छ । अब मिलेमतोमा सरकारी जग्गाको पुर्जा लिने काम रोकिएको छ ।’ उनकाअनुसार सरकारले ‘ल्याण्ड रेडर्क एण्ड म्यानेजमेन्ट सिष्टम’ नामक नयाँ सफ्टवेयर प्रयोगमा ल्याएको छ ।  आफूहरु आधुनिक नेपाल निर्माणको अभियानमा जुटिसकेको पनि उनले जनाइन् । उनले भनिन्,‘हामी आधुनिक नेपाल निर्माण अभियानमा अघि बढिसकेका छौं । जग्गाको नाप, नक्सा पनि अब जीपीएसएस प्रविधिअनुसार हुन्छ । यो कोअर्डिनेटर प्रविधिको प्रयोग हो । डाँडामा राखेर जमिनको अवस्था के छ, कतिपटक हल्लियो भनेर हेर्न सकिन्छ । यही प्रविधि हामीले सगरमाथाको उचाइ मापनमा प्रयोग गरेका थियौं । वरिपरि राखेर ६ ठाउँबाट हे¥यौं । चुचुरोमा राखेर अवलोकन ग¥यौं । अब प्रोसेङिको काम भइरहेको छ ।’ यो प्रविधि नेपालका विभिन्न भागमा १०० देखि १५० स्थानमा स्थायीरुपमा राख्ने तयारी भएको पनि उनले जनाइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>