चितवन विशेष
न्यूनतम पूर्वाधार विनानै सञ्चालनमा चितवनका अधिकांश नर्सिङ कलेज

चितवन,साउन २१-
अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ पढाउने कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने प्रबधान ल्याएपछि चितवनका अधिकांश नर्सिङ कलेजले आफूलाई स्तरोन्नती नगरे खारेज हुने सम्भावना बढेको हो ।
नर्सिङ शिक्षाको गुणस्तर खस्किँदै गएको र जसले पनि नाफाको लागि कलेज खोल्न थालेपछि नेपाल नर्सिङ परिषद्ले यस्तो निर्णय गरेको हो । ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै १०० शैया अस्पताल सञ्चालन गर्न परिपत्र गरेको हो ।
यो निर्णय कडाईका साथ कार्यान्वयनमा आएर आफूलाई अपग्रेड नगरेमा चितवनका आधा दर्जन नर्सिङ कलेजहरुनै बन्द गर्नुपर्ने अवस्था आउने नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य रमेश सुब्बाले बताए । उनले भने, ‘ तर नकारात्मक नसोचौं उनीहरुले आफूलाई अपग्रेड गर्नेछन् । नर्सिङ शिक्षामा गुणस्तर खस्किँदै गएकोले पनि नर्सिङ परिषद्ले यस्तो निर्णय गरेको हो । नागरिकको स्वास्थ्यसँग प्रत्यक्षरुपमा सरोकार राख्ने नर्सिङ शिक्षालाई चितवनमा कमाइ खाने भाँडो बनाएको भन्ने जनगुनासो बढ्दो छ ।’ केन्द्रीय सदस्य सुब्बाले अहिलेको निर्णय जसरी पनि कार्यान्वयन हुनुपर्ने विचार राखे । उनले भने, ‘ नर्सिङ पेसालाई १०० प्रतिशत गुणस्तरिय र सुरक्षित बनाउन पनि नर्सिङ शिक्षा लिने प्रक्रियामा खेलाची गर्नु हुँदैन ।’
‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई आफ्नै १०० शैयाभन्दा माथिको अस्पताल व्यवस्था गर्नुपर्ने नभए विद्यार्थीको सिटसंख्या कटौती गरिनेछ,’ परिषद्ले साउन २ गते गरेको निर्णयमा भनिएको छ ।
चितवनमा १३ वटा नर्सिङ कलेज छन् । जसमध्ये अधिकांश कलेजहरुको १०० शैयाको अस्पताल छैन । जसमा बालकुमारी, बोस्टन, श्रीमेडिकल एण्ड टेक्निकल, चितवन एकेडेमी, मैयादेवीलगायतका कलेजहरुमा परिषद्ले तोकेको मापदण्ड नै पुग्दैन । गैँडाकोटको कालिका नर्सिङ कलेजको अवस्था पनि त्यस्तै रहेको स्रोतले नारायणी अनलाइलाई जानकारी दियो । यद्यपि चितवनका ठूला अस्पतालहरुले सञ्चालन गरेका नर्सिङ कलेजमा भने यो मापदण्डले खासै असर गर्दैन ।
























