देश/प्रदेश

बन्दको दिन मध्यरातमा विप्लव माओवादीबाट एक दर्जन टावरमा आक्रमण ( कहाँ के भयो ? विस्तृत विवरणसहित)

Banner

काठमाडौं, साउन १६-

बन्दको दिन बुधबार राति र बिहीबार बिहान देशका विभिन्न ठाउँमा आगजनीका घटना भएका छन्। एक ठाउँमा नेपाल टेलिकमको टावरमा र अरु ठाउँमा एनसेल टावरलाई लक्ष्य गरी आक्रमण भएका छन्। यी घटनामा धेरैजसो मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई लक्ष्य गरिएको छ।

बुधबार राति भएका अधिकांश घटनामा को संलग्न छन् प्रष्ट खुलेको छैन तर सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता हुने शंका प्रहरीको छ। विप्लवका एक केन्द्रीय सदस्यले एनसेल टावरमा प्रतिकात्मक कारबाही गरिएको बताए। एनसेलमाथि जनताले कारबाही गरेका छन् । उनले भने, ‘हामीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि एनसेलमाथि कारबाही हुनु नै थियो। उनले करछली, मानव तस्करी, भ्रष्टाचार गर्नेलाई कारबाहीको नीति पार्टीले लिएको बताए ।

नवलपुरको कावासोती नगरपालिका–१० मगरकोटमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको छ। राति ११ बजे टावरमा एक समूहले आगजनी गरेको हो। आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। जुटको बोरामा मटितेल राखेर आगजनी गरिएको देखिएको छ। आगजनीबाट टावरको तल्लो भागमा क्षति पुगेको छ। आगजनीपछि तत्कालन पुगेको प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटर दूरीमा छ। आगजनी गर्ने समूहको पहिचान हुन नसके पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीको छ। घटनाबारे सोधपुछ गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न समूहको तीव्ररुपमा खोजी भइरहेको नायब उपरीक्षक रानाभाटले जानकारी दिए। पूर्वी जिल्लामा एनसेलका ३५ वटा टावर रहेको प्रहरीले जनाएको छ। बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ। आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले आगलागीबाट जेनेरेटर जलेको र ब्याट्रीमा क्षति पुगेको जानकारी दिए। प्राविधिक वा अन्य कारणले आगलागी भएको हो सो विषयमा अनुसन्धान भइरहेको उनले बताए। बेनी बजार नजिकै रहेको खबरा क्षेत्रमा राति साढे १० बजेतिर बिष्फोटको आवाज सुनिएको थियो। घटनास्थलको प्रकृति हेर्दा बिष्फोट भएको जस्तो नदेखिएको प्रहरी निरीक्षक पाण्डेले बताए।

त्यसैगरी बिहीबार बिहान बाँकेमा एनसेलका २ टावरमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान साढे १ बजेतिर जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको छ। आगजनीबाट टावरका तारमा क्षति पुगेको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहको संलग्नताको शंका गरिए पनि उसले जिम्मेवारी भने लिएको छैन।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी गरेको छ। बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ। जानकी गाउँपालिका २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ। उता, गोदावरी नगरपालिका–९ मालाखेतीमा पनि एउटा टावरमा आगजनी भएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ६ मा समेत नेकपाका कार्यकर्ताले एनसेलको टावरमा आगजनी गरेका छन्। आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।

त्यस्तै, अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–५ मैदानको अमजामा रहेको नमस्तेको टावरमा आगजनी भएको छ। बुधबार राति बेलुका करिब ८ बजे टावरमा आगजनी भएको प्रहरी चौकी पालिले जनाएको छ। आगलागीबाट टावरमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा अपरिचित ब्यक्तिको समूहले आगो लगाउने प्रयास गरेको छ। बुधबार राति करिब साढे १० बजेतिर उनीहरूले टावरमा लगेको तारको मुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रवक्ता नारायन चिमरीयाले जानकारी दिए। उनका अनुसार उक्त समूहले तारमा आगो लगाएर रातो र कालो तार जडित प्रेसर कुकर छाडेर हिँडेका थिए। नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको छ। वडाध्यक्ष ध्रुब घिमिरेले बिहान सवा ७ बजे बम डिस्पोज गरिएको जानकारी दिए।

मेलम्ची नगरपालिका–१ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ। बुधबार राति अज्ञात समूहले टावरमाथि आगजनी गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको दर्नालनको भनाइ छ। यस्तै मंगलबार राति पनि मेलम्ची नगरपालिका–१० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको थियो। त्यसको पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

त्यसैगरी तनहुँको घिरिङ गाउँपालिका–३ घुल्मीछापमा रहेको एनसेलको टावरमा आगलागी भएको छ। बुधबार राति १२ बजेतिर अज्ञात समूहले टावरमा आगलागी गरेको सूचना पाएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। आगलागीबाट तार जलेपछि टावरको सेवा रोकिएको छ। उनले आगलागी गर्ने समूहको पहिचान भइ नसकेको बताए। मर्मतको काम भइरहेकाले केही दिन नेटवर्क प्रभावित हुने एनसेलले जनाएको छ

अज्ञात समूहले मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मंगलबारेमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरेको छ। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा सामान्य क्षति पुगेको छ। केही तारहरु जलेका छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार पेट्रोल छर्किएर जुटको बोरा प्रयोग गर्दै आगो लगाइए पनि त्यसले ठूलो क्षति भने भएको छैन।तारले घेराबारा गरेको ठाउँको गेट फुटाएर कम्पाउण्डभित्र पसेर आगजनी गरिएको उनले बताए। घटनाको प्रकृति हेर्दा ठूलै क्षति पुर्‍याउने योजना देखिन्छ,ु अधिकारीले भने, तर क्षति सामान्य मात्रै भयो। घटनास्थलमा आगजनीका लागि पेट्रोल बोक्न प्रयोग गरिएको प्लाष्टिकको बोतल फेला परेको छ।

बिहीबार बिहान ७ बजे स्थानीयले आगजनी गरिएको देखेर प्रहरीलाई खबर गरेका थिए। स्थानीय बालकृष्ण दाहालको जग्गा भाडामा लिएर एनसेल टावर राखिएको थियो।डीएसपी अधिकारीले आगजनी गर्नेको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान थालिएको जनाए। पोखरा महानगरपालिका २८ माझठानामा डाँडागाउँमा एनसेल टावरमा आगलागी भएको छ। बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्। कास्की प्रहरीले आगलागी कसले गरायो भन्ने पत्ता लागिनसकेको जनाएको छ। घटनाको अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए ।

डोटीको जोरायल गाउँपालिका-१ गोगनपोनी कटौंचथलामा रहेको एनसेल टावरमा बुधबार राति एक समूहले आगजनी गरेको छ। टावर घेरबारमा राखिएको गेटको ताल्चा फोरेर भित्र गई आगजनी गरेएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। गजनीबाट सिस्टम सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न केवल, बिटिएस बक्स, ब्याट्री बक्स, एसइडिपी च्यानललगायतका सामान जलेर नस्ट भएको प्रहरीले जनाएको छ। आगजनीपछि उक्त क्षेत्रमा एनसेलको नेटवर्क बन्द भएको स्थानीय जीवन बोहराले बताए।आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पलुंटार नगरपालिका–८ दुभारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार राति करिब ११ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। टावरमा जोडिएको सोलार प्रविधिका उपकरण, फाइबरका तार जलाएर नष्ट भएको वडाअध्यक्ष शंकर कँडेलले जानकारी दिए । घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ। यसअघिका एनसेल टावर आगजनीका घटनामा विप्लव समूहको संलग्नता रहेकाले यो घटनामा पनि उनीहरुकै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ। टावरको सोलार प्यानल तोडफोड गर्नुको साथै टावरका सम्पूर्ण उपकरण जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले टावरमा रहेको ५ थान सोलारका प्यानेल, १ थान मेसिन तोडफोड गर्नुको साथै जथाभावी टावर र अन्य उपकरण जलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए। बिहीबार बिहान करिब ९ बजेतिर स्थानीयले उक्त घटना देखेपछि प्रहरीमा उदृत गरेको डिएसपी मगरको भनाई छ। स्थानीयले खबर गरेपछि घटनाको थप प्रकृति बुझ्न प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको डिएसपी मगरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>