देश/प्रदेश

पर्वतमा आगलागीबाट बन्द भएको रेडियो डेढ महीनापछि सञ्चालन

Banner

पर्वत, साउन, १६-
विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको यहाँको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३।६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।

फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती सामुदायिक पुस्तकालय रहेको भवनमा रेडियोको नयाँ संरचना निर्माण गरी सम्पूर्ण प्रसारण सेवा सञ्चालन गरिएको स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिनुए । रेडियो पुनः प्रसारण शुभारम्भ कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले सामुदायिक रेडियोले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिका रेडियोसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए । पछिल्लो समय सञ्चारको महत्व बढ्दै गइरहेका बेला यस रेडियोले नगरका जनतालाई सुसूचित गराउन अहम् भूमिका निर्वाह गरेको शर्माले बताए ।

फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले सञ्चारमाध्यम नगरको गहना र सम्पत्तिको रुपमा रहेको उल्लेख गर्दै यसलाई जोगाइराख्न नगरपालिकाले चौतर्फी सहयोग गर्दै जाने बताए । नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले सञ्चारमाध्यम कसैको दबाब र प्रभावमा नपरी सत्य, तथ्य, निष्पक्ष हुनुपर्ने बताए । रेडियो पुनःनिर्माणका लागि पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भई हाल अमेरिका रहनुभएका भीष्म अधिकारीले रु ३ लाख सहयोग गर्नुभएको थियो । रेडियो पुनःस्थापना गर्दा रु १५ लाख ५० हजार खर्च भएको स्टेशन म्यानेजर शर्माले जानकारी दिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>