चितवन विशेष
सकियो बोस्टन फिएस्टा, पाँच हजार बढी सहभागी

चितवन, साउन १२-
भरतपुरको बोस्टन इन्टरनेसनल कलेजभित्र सञ्चालित बोस्टन फिएस्टा आज सकिएको छ ।
शुक्रबारबाट सञ्चालित फिएस्टा आज सकिएको हो । आज पूर्वमिस नेपाल सुगारिका केसीले व्यक्तित्व विकासबारे विद्यार्थीलाई अभिप्रेरित गरेकी थिइन् । उनले करिअरमा कसरी सफल बन्न सकिन्छ भनेर विद्यार्थीलाई अभिप्रेरणा दिएकी थिइन् । आज कलेजका विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिएका थिए । त्यस्तै शब्दार्थ व्याण्ड र डीजेका प्रस्तुतिहरु पनि आज भएका छन् । फिएस्टाका इभेन्ट म्यानेजर सौरन रिजालले बोस्टन फिएस्टाको दोस्रो संस्करण आशा गरेभन्दा बढी सफल भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले फिएस्टामा पाँच हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको र सञ्चालमा ल्याइएका ३५ वटा स्टलहरुले पनि राम्रो व्यापार गर्न सफल भएको जानकारी दिए ।
शनिबार दोस्रो दिन भएको कार्यक्रममा प्रकाश सपुत, कमल खत्री, प्रकाश सुपुत, अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए । कलेजका कार्यकारी निर्देशक राजु लामाको अध्यक्षतामा शुक्रबार भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान, शिक्षाविद् रमाकान्त सापकोटा, क्षेत्रीय होटल संघ सौंराहाका अध्यक्ष सुमन घिमिरे, युवा उद्यमी मञ्चका अध्यक्ष दाताराम घिमिरे, जिल्ला प्रहरी कार्यालयका ट्राफिक प्रमुख चन्द्र गिरीले फिस्टाले विद्यार्थीमा व्यवहारिक ज्ञान दिने भन्दै प्रशंसा गरेका थिए । फिएस्टालाई सफल बनाउन कार्यक्रमकी मेन्टर सबिना सडौंलाले निकै मेहनत गरेकी थिइन् । उनकै निर्देशनमा हरेक तहका विद्यार्थीहरुले दुई दर्जन गीत र नृत्य प्रस्तुत गरेका थिए ।