चितवन विशेष

नाक, कान र घाँटीका क्यान्सरका बिरामी बढ्दै

Banner

चितवन, साउन १०–

उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान र घाँटीका हुने गरेका पाइएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

वर्षेनी यस रोगका बिरामी थपिँदै गएका छन् । सन २०१५ मा क्यान्सरका नौ हजार ७१८ बिरामीमध्ये एक हजार ४९४ नाक, कान घाँटीका रहेका थिए । यसैगरी सन् २०१६ मा १० हजार ७१५ क्यान्सरका बिरामीमध्ये एक हजार ५४१ र सन् २०१७ मा १० हजार ८२९ मध्ये एक हजार ५५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए ।

विभागले देशभरका ठूला १२ अस्पतालबाट तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । विभागका प्रमुख भोला सिवाकोटीका अनुसार सन् २०१८ को तथ्याङ्क सङ्कलन हुने क्रममा रहेको छ । उनका अनुसार कूल क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत हाराहारी यस रोगका बिरामी हुने गरेका छन् । नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

नाक, कान, घाँटीको क्यान्सर रोग खानपानमा ध्यान दिन सकेमा धेरै हदसम्म कम हुने अस्पतालका विशेषज्ञ डा देजकुमार गौतमले जानकारी दिए । अस्पताल आउने क्यान्सरका बिरामीमध्ये ७० देखि ९० प्रतिशतलाई सुपारी, गुट्खा, सुर्ती र मादक पदार्थको सेवनका कारण हुने गरेको भन्दै उनले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताए।

विश्वमा वार्षिक छ हजार नौ सयको क्यान्सरका कारण मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । जसमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको अनुसन्धान विभागका रजिष्टार डा गम्भिर श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ४० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको श्रेष्ठले बताए।

नाक, कान, घाँटीमा हुने क्यान्सरको रोग रोकथामका लागि भिटामिन, फलफूल खाने, मासु धेरै नखाने, घाममा धेरै हिँडडुल गर्न नहुने, सुर्तीजन्य वस्तु सेवन गर्न नहुने, मादकपदार्थ सेवन गर्न नहुने श्रेष्ठले जानकारी दिए । अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेले यस अस्पतालको तथ्याङ्कलाई केलाउँदै सन् २०१७ मा १५ दशमलव ८७ प्रतिशत नाक, कान घाँटीका बिरामी अस्पताल आएका जानकारी दिए ।

क्यान्सर रोकथाम तथा अनुसन्धान विभागका प्रमुख सिवाकोटीले गाउँघरमा चेतना बढ्दै जाँदा अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए । अहिले अस्पतालले देशको चार स्थानमा गरी ८० स्वास्थ्यकर्मीलाई क्यान्सर रोग सम्बन्धी तालीम दिइएकाले पनि सामान्य समस्या आउँदा पनि अस्पताल आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>