चितवन विशेष
नेपाली कांग्रेस चितवनले वीपीको स्मृत्ति दिवसमा विविध कार्यक्रम गर्ने

चितवन, साउन २-
नेपाली कांग्रेस चितवनको आज बसेको नियमित बैठकले संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवस मनाउने निर्णय गरेको छ ।
बैठकले कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइरालाको यही साउन ६ गते परेको ३७ औं स्मृति दिवसको अवसरमा जिल्लामा साताव्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । साताव्यापी रुपमा मनाउने कार्यक्रममा साउन ६ गते भातृ संस्था तथा सुभेच्छुकहरुलाई आआफ्नो मातहतमा विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन दिएको छ ।
साताव्यापीरुपमा मनाउने कार्यक्रममा ४ गते प्रजातान्त्रिक विचार समाज चितवनले भरतपुर अस्पतालमा वृक्षरोपण गर्ने छ । यस्तै, कांग्रेस चितवनले ६ गते बिहान वीपी शान्ति नगरवनमा २०० विभिन्न जातका विरुवा रोप्ने निर्णय भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । जोशीका अनुसार ६ गते साँझ भरतपुर महानगर समिति र चितवन क्षेत्र नम्बर ४ ले दीप प्रज्वलन गर्ने, ६ गते दिउँसो गुञ्जनगरमा रहेको वीपीको शालिकमा माल्यापर्ण गर्ने, चितवन क्षेत्र नम्बर १ ले ७ गते रक्तदान कार्यक्रम गर्ने निर्णय भएको छ । यस्तै कालिका नगरपालिकामा साउन ५ गते वृक्षरोपण गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता पछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्लामा रहेका कृयाशील सदस्यहरुको विषयमा छलफल हुनुका साथै पार्टीको कृयाशील सदस्यहरुको विषयमा पनि छलफल भएको थियो । बैठकमा केन्द्रले पठाएको परिपत्र र संसदीय दलको कार्यालयको परिपत्रका विषयमा समेत छलफल भएको सचिव जोशीले जानकारी दिए ।
























