चितवन विशेष

रत्ननगरका पाँच कवि तथा लेखक पुरस्कृत

Banner

चितवन, असार २८-

रत्ननगर नगरपालिकाले पाँच जना कवि तथा लेखकलाई शनिबार सम्मान गरेको छ ।

भानु जयन्तीको अवसर पारेर सो नगरपालिकाले नगर भित्रका पाँच कविसहित संस्थागत रुपमा वाल्मीकि साहित्य सदन चितवनलाई सम्मान तथा पुरस्कृत गरेको हो । लामो समयदेखि कला तथा साहित्य क्षेत्रमा क्रियाशील भएर कृति प्रकाशन गरेका पाँच जनालाई सम्मान गरिएको पुरस्कार छनौट समितिका सदस्य तिलकराज शर्माले जानकारी दिए ।

शनिबार रत्ननगरको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा निर्मोही ब्यास, मेयर नारायण वन र उपमेयर विमला दुवाडीले उनीहरुलाई दोसल्ला सम्मानपत्र र जनही नगर १० हजारसहित सम्मान गरेका थिए । सम्मानित तथा पुरस्कृत हुनेहरुमा ईश्वरी ओझा, सूर्य शर्मा, डा कृष्णप्रसाद पौडेल, लक्ष्मण अर्याल र कलम अर्याल रहेको नगर प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए । वाल्मीकि साहित्य सदनलाई नगद २५ हजारसहित पुरस्कृत गरिएको उनले जानकारी दिए । कार्यक्रममा कवि तथा साहित्यकार केशवराज आमोदी र कुलप्रसाद लामिछानेले पुरस्कृत भएका कवि तथा लेखकको बारेमा तथा चितवन साहित्य परिषद्का सल्लाहकार केदार खनालले भानुभक्त आचार्यको जीवनको विषयमा प्रकाश पारेका थिए ।

सो अवसरमा मेयर नारायण वनले कला र साहित्यको माध्यमबाट रत्ननगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका चिनाउने बताए । चितवनको पर्यटकीय नगरी सौराहा रत्ननगरमा रहेको भन्दै उनले पर्यटन क्षेत्रको विकासको लागि कला र साहित्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका कवि तथा साहित्यकारलाई रत्ननगरमा ल्याएर कार्यक्रम गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले कला, साहित्य, संस्कृति र भाषा संरक्षणमा नगरपालिका गम्भीर रहेको भन्दै त्यसैको सिलसिला बमोजिम कवि तथा लेखकलाई सम्मान गरिएको बताइन् ।

यसैबीच भानु जयन्तीको अवसरमा वाल्मीकि साहित्य सदनले चितवनका पाँज कवि तथा साहित्यकारलाई सम्मान गरेको छ । सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा साहित्यकार रामहरि अर्याल, डा. धनेश्वर भट्टराई, मोदनाथ मरहठ्ठा, लक्ष्मण अर्याल, कमल अर्याललाई सम्मान गरिएको हो ।  कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सदनले प्रकाशन गरेको सम्प्रेषण नामक साहित्य पत्रिकाको २३ औं अंक विमोचन गरिएको थियो । कार्यक्रममा लीला दाहाल अधिकारी, सन्ध्या सापकोटा, अम्विका कार्की, रिवाज अर्याल, राजिव पाठकलगायतले रचना वाचन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>