खैरहनी

खैरहनीका ४ वडाको ९५ प्रतिशत महिला अस्पतालमा सुत्केरी

Banner

चितवन, असार २४-

चितवनको खैरहनी नगरपालिकाका ४ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।

नगरपालिकाको ५, ७, ९ र १२ नम्बर वडालाई मंगलबार एक कार्यक्रमकाबीच पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । विसं २०७४ को वैशाखदेखि २०७५ को चैतसम्म ती वडाहरुका गर्भवती सबै महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएको खैरहनी नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक माया पाण्डेले बताइन् । वडा नम्बर ५ मा ४८ जना ,७ मा ५६ जना, ९ मा ४९ जना र १२ मा ६४ जना गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए ।

विसं २०७५ चैतदेखि विसं २०७६ वैशाखसम्म एक महिना लगाएर सुत्केरी महिलाको विवरण संकलन गरिएको थियो । सो अवधिमा नगरमा कुल ७६८ जना महिलाको संस्थागत सुत्केरी भएको थियो भने २१ जना महिलाले घरमै बच्चा जन्माएका थिए । पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गर्दै खैरहनीकी उपमेयर सुनिता थपलियाले यसमा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।  बाँकी वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न र यसलाई दिगो बनाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उपमेयर थपलियाले औल्याइन् । वडा नम्बर १ मा ४ जना, २ मा २ जना, ३ मा २ जना, ४ मा १ जना, ६ मा २ जना महिला घरमै सुत्केरी भएका स्वास्थ्य संयोजक पाण्डेले बताइन् । त्यस्तै वडा नम्बर ८ मा १ जना, १० मा २ जना, ११ मा ३ जना र १३ मा ४ जना महिलाले घरमै बच्चा जन्माएका थिए ।

मातृमृत्यु र शिशु मृत्युदरमा कमी ल्याउने नगरपालिकाको लक्ष्य रहेको छ । ९५ प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने, गर्भवती महिलाले पूर्ण टीडी खोप लगाएको हुनु पर्ने, प्रोटोकल अनुसार गर्भ जाँच गराएको हुनु पर्ने लगायतलाई मापदण्ड बनाएर विवरण संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>