चितवन विशेष
मैयाँदेवी कन्या कलेजको अध्यक्षमा पुनः पौडेल

चितवन, असार २०–
मैयाँदेवी कन्या कलेज भरतपुरको अध्यक्षमा पुनः समाजसेवी टंकनाथ पौडेल चयन भएका छन् ।
बिहीबार भएको कलेज सभाले समाजसेवी पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघिको कार्यकालमा पनि अध्यक्ष थिए । तीन वर्षे कार्यकाल सफलता पूर्वक चलाएका पौडेलले कलेजको विकासका लागि महत्वपूर्ण योगदान दिएका थिए । पहिलो पटक अध्यक्षमा आउँदा कलेज ऋणमा डुबेको थियो । शिक्षकहरु तलब खान नपाउने अवस्थामा थिए । तर उनी आइसकेपछि कलेज ऋणमुक्त हुँदै शैक्षिक गुणस्तरमा पनि सुधार गरेको छ ।
उनी आएपछि कलेजमा सिटिइभिटिका विभिन्न कार्यक्रमहरु संचालनमा ल्याए । त्यसले पनि कलेज संचालनमा सहज भएको पौडेलले बताए । उनले विगतको आर्थिक समस्या समाधान गरेर सबैलाई समयमै तलब खुवाउने अवस्था बनाएको बताए ।
उनले कलेजको विकाससंगै गरिब, जेहेन्दार, अशक्त विद्यार्थीहरुलाई पनि पढ्न सहज होस् भन्नका लागि अक्षय कोष निर्माण गर्न लागेको जानकारी दिए । उनले भने–‘एक करोडको अक्षय कोष निर्माण गर्ने घोषणा गरेको छु, आजै मात्र २० लाख प्राप्त भएको छ ।’ उनले कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठको पहलमा २० लाख रुपैयाँ हस्तान्तरण समेत भइसकेको बताए । उनले एक करोड १६ लाखको अक्षय कोषले गरिब, जेहेन्दार, असक्त विद्याथीहरुलाई छात्रवृत्ति दिनका लागि सहज हुने बताए ।
वि.सं.२०५७ सालमा वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठको नामबाट कलेज स्थापना गरिएको हो । कलेजको भवन निर्माणदेखी सबै खर्च मैयाँदेवी श्रेष्ठले व्यहोरेका हुन् ।
हाल यस कलेजमा सबै खालका कक्षाहरु संचालन भईरहेका छन् । हाल यस कलेजमा कक्षा ११ देखी स्नाकोत्तरसम्म पढाई हुन्छ भने प्राविधिक शिक्षाहरु समेत संचालन भइरहेको छन् । यस कलेजमा हाल एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।