चितवन विशेष

पानीपुरीले बनायो आशिषलाई कटेजको मालिक

Banner

विवेक पोख्रेल,

चितवन, असार १९–

पश्चिम चितवन अमृतनगरका आशिष सुवेदी ९ वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसीया पुगे । झण्डै डेढ वर्ष मलेसीया बस्दा सोँचे जस्तै कमाई भएन । उनी लगत्तै स्वदेश फर्किए । आफूसंग प्रयाप्त पैसा नभएपछि उनी चार वर्ष जागिर खाए । थोर बहुत आम्दानी भएपछि आफ्नै व्यवसाय गर्ने सोँच पलायो । धेरै लगानी गर्ने पैसा नभएपछि उनी सानै व्यवसाय सुरु गरे । १६ हजार रुपैयाँमा पानी पुरीको व्यवसाय थाले । हेर्दा सामान्य जस्तै लागे पनि उनले राम्रो आम्दानी गर्दै गए । अन्ततः उनी पानी पुरी बेचेरै सुविधा सम्पन्न कटेज एण्ड खाजा घरको मालिक बनेका छन् ।

भरतपुर महानगरपालिका–२५ अमृतनगर चोकमा चार वर्ष अघि पानी पुरी व्यवसाय थालेका सुवेदीले अहिले कटेज व्यवसाय अगाडि बढाएका छन् । सुवेदीले भने–‘आफ्नै देशमा केही गर्छु भनेर पानी पुरी व्यवसायबाट सुरु गरे, अहिले कटेज खोल्न सक्षम भए ।’ उनले विदेशमा जस्तै मेहनत गरे यहीँ सफलता हासिल गर्न सक्ने बताए । ‘मलेसीबाट कहिल्यै विदेश नजाने कसम खाएर स्वदेश फर्किए, त्यहाँको जति मेहनत यहाँ गरे धेरै राम्रो हुँदो रहेछ’–अनुभव सुनाउदै सुवेदीले भने ।

उनले स्याकलुङ्गे कटेज एण्ड खाजा घर नाम दिएर व्यवसायलाई व्यवस्थित बनाएका छन् । उनलाई श्रीमती अस्मिताको पनि व्यवसायमा राम्रो साथ मिलेको छ । जसका कारण व्यवसाय सफल हुँदै गइरहेको उनको भनाई छ ।

श्रीमती भान्साको काम गर्ने र श्रीमान् बजारदेखी बाहिरी व्यवस्थापनको काम हेर्दै व्यवसायलाई अघि बढाएका हुन् । व्यवसाय फस्टउँदै गएपछि सुवेदी दम्पति अहिले दंग छन् । सुवेदीले भने–‘गरे जे पनि सम्भव हुँदो रहेछ, सानो व्यवसायले नै हामीलाई बाच्न धेरै सहज बनायो ।’
उनको कटेजमा ग्राहकको घुइँचो लाग्ने गरेको छ । सबैको साथ र सहयोग सुवेदी दम्पतिले पाउने गरेका छन् । खाजाघरको स्वादले ग्राहकको मन जित्दै गएको उनको भनाइ छ ।

खजा घरमा अहिले आर्कषक एउटा हलसहित ३ वटा कटेज छ । ३ कठ्ठा क्षेत्रफलमा फैलिएको कटेज एण्ड खाजा घरमा पार्किङको राम्रो सुविधासहित गुणस्तरीय खानेकुरा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकलाई राम्रो सेवा दिनका लागि सुवेदी आफैले हाँस र कुखुरा समेत पालेका छन् । उनको आफ्नै माछा पोखरी समेत छ । तरकारी र अन्नउत्पादन पनि उनले आफैले गरेका छन् । यसले गर्दा उनलाई व्यवसाय संचालनमा झनै सहयोग पुगेको छ । कटेजमा आउने ग्राहकहरुले हाँसको छोइला, टर्की र माछाका परिकार बढी मन पराउने गरेको उनले सुनाए ।

सुवेदीले यही व्यवसायबाट आफ्नो जिविकोपार्जन मात्र गरेका छैनन् स्थानीय दुई जना युवालाई समेत रोजगारी दिएका छन् । कटेज बाट रोजगारी पनि पाएका छन् । उनले भने–‘आफ्नो परिवार त चलेकै छ, अरु युवाहरुलाई पनि रोजगारी दिन सकेकोमा एकदमै खुशी छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>