नवलपरासी
‘संवैधानिक अधिकार संरक्षणमा आयोग क्रियाशील’: अध्यक्ष समीम

परासी, असार १६–
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मुस्लिम समुदायले प्राप्त गरेको संवैधानिक अधिकार संरक्षणमा आयोग क्रियाशील रहेको बताएका छन् । उनले मुस्लिम समुदायलाई अब हरेक क्षेत्रमा छुट्टै आरक्षण सुनिश्चित भएको बताए ।
पश्चिम नवलपरासीको परासीमा ‘फैजाने अहले बैत’ले आज (सोमबार) आयोजना गरेको कार्यक्रममा अध्यक्ष अन्सारीले भने, “लामो सङ्घर्षपछि संविधानमा हामीले आफ्नो अधिकार लेख्न सफल भएका छौँ, अब यो अधिकार कसैले छिन्न सक्दैन, आरक्षणको व्यवस्था भएको छ । कानून बनेपछि पूर्णरुपमा लागू हुन्छ ।” उनले मुस्लिम समुदायलाई शिक्षा र सीपको माध्यमबाट उत्थान गर्न आयोगले पहल थालेको बताए ।
प्राप्त अधिकारको संरक्षण गर्न आयोग प्रतिबद्ध रहेको उनको भनाइ थियो । शिक्षाको कमीका कारण मुस्लिम समुदाय पछि परेको अध्यक्ष अन्सारीले बताए । हज यात्रीको सहजताका लागि काठमाडौँमा हजगृह बनाउन आयोगले पहल गरिरहेको उनले बताए ।
कार्यक्रममा मुस्लिम सङ्गठनका अध्यक्ष सिराज अहमद फारुकी, फैजाने अहले बैतका जिल्ला अध्यक्ष शैयद गुलाम हुसेनलगायतले मुस्लिम समुदायको उत्थान र विकासमा जोड दिएका थिए । (रासस)