अर्थ

चितवनमा विज्ञ बहस: व्यापार घाटा कम नभए अर्थतन्त्रनै धरासायी

Banner

चितवन, असार ८-

नेपालका उद्योगी, व्यवसायी तथा बैँकिङ क्षेत्रका विज्ञहरुले देशको व्यापार घाटालाई घटाउनतर्फ छिट्टै पहल नभएमा देशको अर्थतन्त्र नै टाट पल्टने अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

भरतपुरको बोस्टन इन्टरनेशन कलेज र उद्योग वाणिज्य संघ चितवनले संयुक्तरुपमा आज गरेको ‘यस वर्षको बजेट र यसका चुनौतीहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । उनीहरुले देशमा लगानीको उचित वातावरण बनाएर बेरोजगारी र व्यापार घाटालाई रोक्न नसक्ने हो भने देशको अर्थतन्त्र धरासायी बन्ने खतरा रहेको बताए । देशको व्यापार घाटा विगत २० वर्षमा ३० प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको उनीहरुले कार्यक्रममा तथ्यांक पेस गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैँकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाली अर्थतन्त्रका सूचकहरु सन्तोषजनक नभएको बताए । उनले देशमा बढ्दो भ्रष्टाचार तथा संस्थागत सुशासनको अभावले देशले लक्ष्य राखे बमोजिम समृद्धि हासिल गर्न नसक्ने विचार राखे । उनले भने, ‘ सरकारले बजेटमा राखेको आर्थिक वृद्धि दरको लक्ष्य सजिलै प्राप्त हुन कठिन देखिन्छ । यदि देशमा दोहोरा अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने शतप्रतिशत नागरिकलाई विधुत् सेवा, प्रविधिको प्रयोगमा जोड, आन्तरिक ऋण लगानी र सुशासन जस्ता विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ ।’ पूर्वकार्यकारी निर्देशक थापाले संस्थागत सुशासनको अभाव र ढिलासुस्ती रहेसम्म देशमा अपेक्षितरुपमा विदेशी लगानी भित्र्याउँन कठिन हुने बताए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा केशवभक्त सापकोटाले यस वर्षको बजेटमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि सो अनुसारको देशमा आवश्यक पूर्वाधारहरुको विकास हुन नसकेको विचार राखे । उनले विसं २००८ सालदेखि नै देशमा सरकारले बजेट ल्याउने प्रचलन सुरु भए पनि सबैभन्दा ठूलो समस्या कार्यान्वयनको रहेको विचार राखे । डा सापकोटाले देशमा कति सुशासन छ भन्ने उदाहरण त मेलम्ची आयोजनाको निर्माण गतिले पनि स्पष्ट पार्ने दाबी गरे ।

त्यसैगरी अन्तक्र्रियामा ग्लोबल आईएमई बैँकका पूर्वसीईओ जनकशर्मा पौडेलले देशको विकासमा जहाँ गरिबी छ त्यता बजेट जान नसकेको बताए । उनले भने, ‘ देशमा विकासको अनुगमन सम्यन्त्रको अभाव, भष्टाचार, अस्थिर आर्थिक नीति, असुरक्षाको अनुभवले देशमा वैदेशिक लगानी घट्दै गएको बताए । उनले भने, ‘सरकारले बैँकहरुलाई वैदेशिक ऋण लगानी गर्न सक्ने अधिकार दिए पनि डलरको भाउमा ऋण लिएर नेपालमा लगानी गर्ने वातावरण नै छैन ।’ प्रजातन्त्र भएको देशमा मात्र वैदेशिक लगानी आउँछ भन्ने सोच नै गलत भएको उनको विचार थियो । उनले भने, ‘चीनमा अहिले विश्वभरका लगानीकर्ताहरु आकर्षित हुनुको मुख्य कारण लगानीको सुरक्षा नै हो ।’

बजेटसम्बन्धी बहस कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले अझैसम्म पनि देशमा लगानीको वातावरण नबनेकोले देशको उपल्लो क्षेत्रको वर्ग लगानीमा आउन नै नचाहेको बताए । उनले भने, ‘देशको आर्थिक क्षेत्रमा विकृतिहरु नै बढी देखिन्छ । कर्मचारीलाई तलब बढे पुग्ने, नागरिकलाई कर तिर्न नपरेजस्तो हुने, उद्योगीव्यवसायी पनि मौका पाए छलिहाल्ने, भष्ट्र कर्मचारीतन्त्र कमाउने धन्दामा लाग्ने जस्ता आम प्रवृत्ति कायम रहेसम्म देश समृद्धिमा अगाडि बढ्न सक्दैन ।’ वरिष्ठ उपाध्यक्ष पौडेलले कच्चा पदार्थमा तयारी पदार्थभन्दा कर बढी लगाउने, निजी क्षेत्रको लगानी र भूमिकालाई अवमूल्यन गरेसम्म देशमा औधोगिक लगानी गर्ने वातावरण नबन्ने दाबी गरे । उनले १२ प्रतिशत व्याजमा उद्योगीहरुले लगानी बढाउन सक्दैनन् त्यसैले सरकारले अनुदान दिनुपर्ने विचार राखे । देशको अर्थतन्त्रमा प्रत्येक वर्ष कृषि क्षेत्रको योगदान घट्दै जानु र वार्षिक १५ अर्बको तरकारी निर्यात हुनु आफैमा दुःखद भएको छलफलमा सहभागी विज्ञहरुको विचार थियो । बोस्टन कलेजका अर्थशास्त्रका प्राध्यापक लिलाराज लोहनीले सञ्चालन गरेको कार्यक्रममा बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्द, नयाँ पत्रिका दैनिकका आर्थिक व्यूरोका प्रमुख जनार्दन बराल, त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक निर्मलकुमार शर्मा, चितवन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य यमबहादुर विकले बोलेका थिए । बहस कार्यक्रममा कलेजका प्राध्यापकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>