चितवन विशेष

सौराहामा अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुँदै, निकुञ्जभित्रको बन्यजन्तु हेर्न पाइने

Banner

चितवन,जेठ २९-

मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहामा अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण हुने भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको बन्यजन्तु हेर्नकै लागि अन्तर्राष्ट्रिय स्तरको भ्यू टावर निर्माण गरिन लागिएको हो ।

टावर निर्माणको औपचारिक प्रकृया अघि बढिसकेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्यू टावरका लागि विस्तृत सम्भाब्यत अध्ययन (डिपिआर)का लागि ५० लाख रुपैयाँ छुट्याइसकेको छ । पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले डिपिआरका लागि स्थलगत अध्ययन समेत भइसकेको बताए । डिपिआरपछि भ्यू टावर निर्माणको लागत तय हुनेछ ।

’सौराहामा भ्यू टावर निर्माण अध्ययनका लागि हामीले केही समय अगाडी टेण्डर गरेका थियौँ । डिपिआरका लागि कन्सल्टेन्ट कम्पनी छनौंट भइसकेको छ । यसको डिजाइन सम्वन्धी अध्ययन गरिरहेका छौँ । यही वर्ष डिपिआरको काम सक्नेछौँ ।’ महानिर्देशक घिमिरेले भने ।
उनका अनुसार भ्यू टावर चितवन राष्ट्रिय निकुञ्ज परिसर भित्र निर्माण गरिनेछ । टावर निर्माण गर्नका लागि विभागले चितवन राष्ट्रिय निकुञ्जसँग अनुमति लिइसकेको उनले जानकारी दिए । ’कम्तिमा पनि सौराहासँगै राष्ट्रिय निकुञ्जलाई एकै ठाउँमा उभिएर हेर्न सकिने उद्धेश्यले भ्यू टावर निर्माण गर्न लागिएको हो । यो परिकल्पना हाम्रो विभागका पुर्व महानिर्देशक दिनेश भट्टराईको हो ।’ उनले भने । उनका अनुसार डिपिआर तयार भएपछि वहुवर्षिय बजेट विनियोजन गरेर टावर निर्माण गरिनेछ ।

अहिले विभिन्न जिल्लामा भ्यू टावर निर्माण भइरहेको छ । तर यो भ्यूटावर भने अहिले निर्माण भइरहेका भन्दा फरक हुने घिमिरेले दाबी गरे ।‘ अन्तर्राष्ट्रियस्तरको लिफ्टसहितको टावर निर्माण हुनेछ । टावरभित्रै व्यवसायिक पसलहरु पनि रहनेछन् ।’ उनले भने । यो टावर निर्माण सुरु भएको पाँच वर्षमा तयार हुनेछ ।

भ्यू टावर निर्माणको प्रकृया सुरु भएपछि स्थानीय पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले राष्ट्रिय निकुञ्ज वाहेक टुरिज्म प्रडक्ट थपिँदा सौराहाको पर्यटनमा ठूलो योगदान दिने बताए ।‘हामी अहिले चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तुसँग जोडिएको पर्यटन प्रवर्द्धन गरिरहेका छौं ।

तर अब अन्तर्राष्ट्रिय स्तरको भ्यू टावरले यहाँको पर्यटन क्षेत्रलाई थप योगदान दिने विश्वास लिएका छौं’ उनले भने । उनका अनुसार वन्यजन्तु हेर्न जंगल सफारी र जिप सफारी वाहेक भ्यू टावरबाट पनि अवलोकन गर्न सकिने वातावरण तयार हुनेछ । घिमिरेले सौराहामा निर्माण हुने भ्यू टावरले चितवनलाईनै प्रतिनिधित्व गर्ने बताउँदै टावर निर्माणका लागि स्थानीय पर्यटन व्यवसायीले एकजुट भएर सघाउने प्रतिवद्धता जनाए । (विजमाण्डौबाट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>