चितवन विशेष

‘अन्ततः हार्‍यो ‘एएफयु’, निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने

Banner

नारायण अधिकारी,

चितवन, जेठ २३–

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको सहारामा विद्यार्थी भर्ना गराएका थिए ।

सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको रजिष्ट्रेशन गर्न विश्वविद्यालयलाई आदेश गरेपछि उनीहरुले मान्यता प्राप्त गर्ने भएका हुन । यससँगै विश्वविद्यालय ती विद्यार्थीको रजिष्ट्रेशन गर्न बाध्य भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले सर्वोच्चको आदेशलाई बेवास्ता गरेर जाने अवस्था नरहेको बताए । ती क्याम्पसले १५० जति विद्यार्थी भर्ना गराएको ढकालले जानकारी दिए ।

विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत र रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमहीले विद्यार्थी भर्ना लिएर कृषि विषय पढाउँदै आएका छन् ।

यसैगरी सिद्धान्त कलेज गैँडाकोटले वन स्नातक विषयको पठनपाठन गर्दै आएको छ । विश्वविद्यालयले सम्बन्धन दिएको गैँडाकोटको हिमछायाँ कलेजले भने अदालती प्रक्रियामा नगएकाले विद्यार्थी भर्ना लिएको छैन ।

ती क्याम्पसले ५० विद्यार्थी पढाउने अनुमति पाएको भए पनि विद्यार्थी भने कम मात्रै पाएका छन् । गत वर्षको असारमा विश्वविद्यालयले ती क्याम्पसलाई सम्बन्धन दिएकोमा चौतर्फी आलोचना भएपछि मन्त्रिपरिषद् बैठकले सम्बन्धन खारेज गरेको थियो ।

विश्वविद्यालय बाध्य भएर अनुमति दिएका क्याम्पसलाई भर्ना खुलाएर पनि पछि संशोधन गरी निजीका लागि भर्ना रोकेको थियो । त्यसको विरोधमा निजी क्याम्पस सञ्चालक सर्वोच्च पुगेका थिए । सर्वोच्चले भर्ना प्रक्रिया अघि बढाउन आदेश दिएअनुसार नै निजी क्याम्पसले भर्ना शुरु गरी पठनपाठन प्रक्रिया अघि बढाएको ब्राइट मध्यपश्चिम कलेजका सञ्चालक बखत भण्डारीले बताए ।

निजी क्याम्पसले कृषि तथा वन विज्ञान विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिएर पठनपाठनको प्रक्रिया अघि बढाएको हो । भण्डारीले सर्वोच्चको आदेशसँगै विश्वविद्यालयको अधिकार स्थापित भएको बताए । यससँगै विश्वविद्यालय र निजी क्याम्पसबीचमा देखिएको समस्या पनि समाधान भएको उनको भनाइ थियो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>