मध्य नेपाल

नारायणी नदीमा पानीजहाज चलाउन गहिराइ नापिँदै

Banner

चितवन , जेठ २३-

नारायणी नदीमा पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारबाट पहिलो चरणको अध्ययन सुरु गरेको हो ।

चितवनको दासढुंगादेखि नेपाल–भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाउने योजना रहेको जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव ऋषिराम शर्माले जानकारी दिए ।

नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । दुई दिनको अवधिमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिइसकेको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाएको छ ।

‘सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ । ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुनसक्छ,’ अध्ययन टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने, ‘यद्यपि अहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो ।’

नारायणी नदीको गहिराइ नाप्न डीजीपीएस प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ । यो मेसिन यसअघि भेरी बबई बहुउद्देश्यीय परियोजनामा पहिलो पटक प्रयोग गरिएको थियो र सफल पनि भएको थियो ।

खनालका अनुसार यो अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि हो र यसले गर्ने नापजाँच विश्वासिलो हुन्छ । यो मेसिनलाई डुंगा र्वा याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी वा तालको गहिराइ नाप्न सकिन्छ । नारायणी नदीमा अहिले पानीको बहाव बढेकाले मोटर बोटमा जडान गरेर गहिराइ नाप्ने काम भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>