नवलपरासी
श्री शान्तिको ६९औं अभिभावक दिवस

बैशाख २२, २०७६
ललितपुरको लोहलस्थित श्री शान्ति विद्याश्रम, २००७ सालको प्रजातन्त्रमा बहाली भएपछि विद्यालय खुल्ने क्रममा स्थापना गरिएको हो। वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उहाँका आफन्त र साथीभाइको अगुवाइमा सो विद्यालय स्थापना गर्नुभएको थियो। त्यही विद्यालयले गत बुधबार ६९औं अभिभावक दिवस मनायो। अभिभावक दिवसको उद्घाटन गर्नुहँुदै वरिष्ठ संस्कृतिविद् जोशीले किसान समुदायको बाहुल्य रहेको सो स्थानमा शिक्षित बनाउने उद्देश्यले विद्यालय स्थापना गरिएको स्मरण गर्नुभयो।
२००७ सालको परिर्वतनलाई सर्वसाधारण जनताले अनुभूत गराउन विद्यालयले निर्वाह गरेको भूमिका, तत्कालीन परिवेशको पृष्ठभूमीसहित वृतान्त जोशीले त्यतिबेला सुनाउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजरमान जोशीको सभापतित्वमा भएको सो समारोहमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, प्रदेश ३ का सांसद् शोभा शाक्य, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, विद्यालयका प्रधानाध्यापक राजु पौडेललगायतले सामुदायिक विद्यालयको पढाइको गुणस्तरीयता र अहिलेको शिक्षा नीतिका विविध पक्षबारेमा केन्द्रित गर्दै आ–आफ्नो भनाइ राख्नुभयो। सो अवसरमा विद्यार्थी, शिक्षिकाबाट विभिन्न गीत, नृत्य प्रस्तुत गरिएको थियो।