देश/प्रदेश

मोबाइलको रोमिङ सेवामा उपभोक्ताको रुचि घट्दो

Banner

असार १८–

 

सोमवारदेखि नेपाल टेलिकमले भारत र चीनका लागि आफ्ना प्रिपेड मोबाइल सेवामा पहिलोपटक रोमिङ सेवा सुरु गरेको छ।

स्वदेशी सिमकार्डकै प्रयोग गरेर विदेशमा फोन उठाउन र गर्न सकिने यस्तो सेवामा मानिसहरूको रुचि भने निकै घटिरहेको अधिकारीहरू बताउँछन्।

उपभोक्तालाई आफ्नो सेवा प्रयोग गराइराख्ने नेपाल टेलिकमले यसअघि पोस्टपेडका लागि मात्र दिइएको यस्तो सेवा प्रिपेडमा सुरु गर्नुका साथै शुल्क पनि घटाएको छ।

टेलिकमका अधिकारीहरूले त्यसो गर्नुको उद्देश्य रोमिङको आवश्यकता र औचित्यबारे अब नयाँ ढङ्गबाट सोच्नुपरेको कारण बताउँछन्।

किन ल्यायो त नेपाल टेलिकमले नयाँ रणनीति? जान्नुहोस् यी कारण –

१. भ्वाइस मेसिजिङ सेवाको प्रभाव

इन्टरनेट प्रयोग गरेर स्काइप, भाइबर र ह्वाट्सएपजजस्ता एपबाट भ्वाइस-मेसिजिङ गर्न सकिन्छ। त्यसैले पहिलाको जस्तो मोबाइल फोनमा रोमिङ आवश्यक परिराख्दैन।

छोटो समयका लागि यात्रा गर्ने मानिसको प्राय: इन्टरनेटमा पहुँच हुने भएकाले भ्वाइस सेवामा प्रयोग बढी हुन्छ।

त्यसैले रोमिङको शुल्क घटाए पनि आम्दानी भने पहिलेको स्वरूपमा आउन नसक्ने विज्ञहरू बताउँछन्।

२. रोमिङको आम्दानीमा तीव्र ह्रास

इन्टरनेटका कारण फोनमा रोमिङ सेवा लिइराख्नुपर्ने आवश्यकता कम हुँदै गएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालका भनाइमा अब रोमिङलाई “पहिलेजस्तो विशेष देखाएर चर्को शुल्क लिनु” सेवाप्रदायककै लागि प्रत्युत्पादक हुँदैछ।

तपाईँ बोक्नुहुन्छ त मोबाइल वालेट?
विपदमा मोबाइल प्रविधि कसरी सहयोगी

सस्तो र सहज बनाएर उपभोक्तालाई केही मात्रामा यो सेवामा प्रयोग गराउन सकियो भने त्यो उपलब्धि हुने ठानेर टेलिकमले नयाँ रणनीति बनाएको हुन सक्ने खनाल ठान्छन्।

३. मध्यम वर्गको घुम्ने मोह

भारतमा उपचार गर्न जानेहरू हुन् वा मध्यम खालका व्यवसायकै लागि चीनमा सामान किन्न जानेहरू अहिले छोटो समयका लागि विदेश आउजाउ गर्ने नेपालीहरूको सङ्ख्या बढेको छ।

केही दिनका लागि छुट्टी मनाउन भन्दै घुम्न निस्कनेहरू समेत बढेका छन्।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन्, “यस्तो लहर नेपालमा मात्र होइन विदेशमा समेत सबैतिर छ। त्यसैले हामीले सहकार्य गर्ने अन्य देशका दूरसञ्चार सेवाप्रदायकसँग समेत ठूलो छुटमा काम गर्न सहज भएको छ।”

सस्तोमा र इन्टरनेटबिनै निरन्तर सम्पर्कमा रहने आवश्यकतामा हुने सेवाग्राहीका लागि रोमिङका अबका रणनीति केन्द्रित हुने उनीजस्ता अधिकारीहरूको मत छ।

४. प्रिपेड र पोस्टपेड सेवामा फरक छैन

कुनै समय पोस्टपेड सेवा लिन ३० हजार रुपैयाँ धरौटी लिने टेलिकमले अहिले त्यसलाई १० हजार रुपैयाँमा झारेको छ।

टेलिकम प्रवक्ता वैद्य थप्छिन्, “त्यसलाई अझै कम गर्दैछौँ किनकि अब सेवाका दृष्टिले प्रिपेड र पोस्टपेड सबै एकैखाले भइरहेका छन्। बरु प्रिपेड प्रयोगकर्ताले झन् धेरै खर्च गरिरहेका छन्।”

प्राधिकरणका वरिष्ठ निर्देशक खनालका भनाइमा समेत उपभोक्ताले “सेवा प्रयोग नगर्दै सरकारलाई कर र सेवा प्रदायकलाई शुल्क तिर्ने प्रिपेड” झन् लाभदायक बनेकोले उनीहरूलाई अब समान सेवासुविधा दिनुपरेको हो।

नेपाल टेलिकमले अहिले ८७ देशमा १९७ सेवाप्रदायकसँग मिलेर रोमिङ सुविधा दिइराखेको भए पनि प्रिपेडमा यो सेवा भने पहिलोपटक सुरु गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>