समाचार

चिकित्सकको आन्दोलन कठोर बन्दै, कारवाही गर्ने वा माग सम्बोधन गर्ने सरकार दोधारमा

Banner

काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान)ले सरकारलाई वार्ताको माध्ययमबाट आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेको छ ।

समायोजन प्रक्रियामा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग सम्बोधनका लागि तत्काल सरकारले वार्तामा बोलाउनुपर्ने जनाएको छ । गोदानले आफ्ना मागप्रति सरकारले व्यवस्ता गरे सम्पूर्ण चिकित्सकहरु कठोर आन्दोलन गर्न बाध्य हुने जनाएको छ ।

गोदानले समायोजन प्रक्रियामा चिकित्सकको दरवन्दी अवैज्ञानिक र अन्यायपूर्ण रहेको दाबी गरेको छ । आफूहरुले पटक-पटक आवाज उठाउँदा पनि सरकारले झुटो आश्वासन मात्रै दिएकाले  देशरभका सरकारी अस्पतालमा आकस्मिक बाहेको सेवा बहिष्कार गरेको  गोदानले जनाएको छ । अस्पतालको सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिँदा समेत सरकारले माग सम्बोधनमा बेवास्ता गरेपछि गोदनले  विज्ञप्ति जारी गर्दै सरकारलाई वार्ताका लागि आह्वान गरेको हो ।

‘सरकारपक्षबाट देशभरीका चिकित्सकको जायज आवाजलाई फेरि पनि नजरअन्दाज गरी समस्या समाधानको साटो झनै बल्झाउने काम भइरहेको हाम्रो ठहर छ,’ गोदानको विज्ञप्तिमा भनिएको छ, ‘संघको जायज मागरूलाई दबाउने, चिकित्सकहरूलाई डर देखाउने,धम्क्याउने जस्ता क्रियाकलापले सरकार पक्ष हाम्रो आन्दोलनलाई थप कडा भन्दा कडा बनाउन चाहेको जस्तो देखिन्छ ।’

सरकारले चिकित्सकलाई दमन गरेरै जाने मनस्थिति बनाएमा चिकित्सकले झनै कठोर आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आन्दोलनको कार्यक्रम फिर्ता गरेर उपचारमा खटिन चिकित्सकलाई आग्रह गरेको छ । संघीयता अनुसार सबै चिकित्सकलाई संघ अन्तर्गत समायोजन गर्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयले आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

मंगलबारसम्म पनि आन्दोलनका कार्यक्रम फिर्ता नलिए सरकारले आन्दोलन गर्ने चिकित्सकलाई कारवाही गर्ने चेतावनी समेत दिएको थियो । तर चिकित्सकहरुले मंगलबार पनि देशभरका सरकारी अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरे ।  मन्त्रालयको आग्रहलाई समेत अटेर गरी चिकित्सकहरुले आन्दोलन जारी राखेपछि मंगलबार स्वास्थ्य मन्त्रालयमा छलफल समेत भएको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैले पनि ठोस निर्णय भने लिन सकेको छैन ।

चिकित्सकको आन्दोलनको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिवहरु लगायतको टोलीले मन्त्रालयमा पटक-पटक छलफल गरेपनि कुनै निर्णय भने नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मेहन्द्र श्रेष्ठले बताए ।

‘मन्त्रीज्यू, स्वास्थ्य सचिवज्यूहरुले डाक्टरको आन्दोलनको विषयमा पटक-पटक छलफल गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर आन्दोलन गर्ने चिकित्सकलाई कारवाही गर्ने कि उनीहरुको मागका विषयमा वार्तामा बोलाउने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>