समाचार

घरको सम्पत्ति बेचेर, ऋण काढेर विदेश जाने युवा बढे

Banner

रुकुम (पूर्व)- रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्न थालेको छ । धेरै युवाले घरको सम्पत्ति बेचेर वैदेशिक रोजगारी रोजेका छन् । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौं युवा विदेशिइरहेका छन् ।

जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् । कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।

जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।

गाउँमा जनशक्ति नहुँदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व)लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो । यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९ सय ५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या २ हजार ५ सय नाघेको अनुमान कार्यालयले गरेको छ ।

विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा १ हजार १ सय २७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ८ सय २८ ले राहदानी लिएका छन् । कार्यालयबाट दैनिक ८ देखि १० जनाले राहदानी लिने गरेको प्रजिअ शर्माले बताए । जिल्लाबाट महिनामा २५/३० को सङ्ख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको यो दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>