समाचार

विश्व स्वास्थ्य दिवसका दिन अस्पतालमा ताला– मन्त्री कार्यक्रममा व्यस्त, उपचार नपाएर घर फर्किँदै बिरामी

Banner

काठमाडौं– आज विश्व स्वास्थ्य दिवस । स्वास्थ्य  मन्त्रालय तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु दिवस मनाउन व्यस्त छन् ।

दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले रोगबाट बच्न समयमै स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् । रोग लागेपछि समयमै अस्पताल जानु भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले कार्यक्रमहरुमा भाषण गरिरहदा बिरामी भएर स्वास्थ्यसंस्था पुग्नेहरु भने उपचार पनाइ घर फर्किन बाध्य भएका छन् ।

‘बिरामी भएर बल्लतल्ल अस्पताल आइपुगेको डाक्टरले नै अस्पताल बन्द गरेका छन् रे, आज पनि उपचार नपाइ घर फर्किनु पर्ने भयो,’ वीर अस्पतालको बन्द टिकट काउन्टरमा भेटिएका एकजना बिरामी गुनासो गर्दै थिए ।

एक कार्यक्रममा सहभागी हुन चितवनको भरतपुर पुगेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव

स्वास्थ्य सेवा दिवसकै अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरु उपचार गराउन अस्पताल जानुपर्छ भन्दै गर्दा अस्पतालमा भने चिकित्सकहरु नै अस्पताल बन्द गरेर आन्दोलनमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चिकित्सकहरुको समायोजनको सूची सार्वजनिक गरेपछि त्यसमा असन्तुष्ट जनाउँदै शुक्रबारदेखि सरकारी चिकित्सकले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा बन्द गराएका छन् ।  सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा चिकित्सकहरु अस्पताल आएका बिरामीको उपचार छाडेर आन्दोलनमा छन् ।

बिहीबार मात्रै सरकारले अस्पताल क्षेत्रमा बन्द गर्न नपाइने निर्णय सार्वजनिक गरे पनि चिकित्सकहरु सरकारलाई नै चुनौति दिँदै अस्पताल बन्द गराइरहेका छन् । सरकारले जस्तोसुकै निर्णय सुनाए पनि आफूहरुका माग पुरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा सरकारी चिकित्सक छन् ।

अस्पताल बन्द भएपछि अलपत्र परेका बिरामीहरु

‘मन्त्रिपरिषद्को निर्णय जेसुकै आओस् हाम्रो आन्दोलन रोकिँदैन, प्रधानमन्त्रीले गरेको प्रतिवद्धता कार्यान्वयन नगर्ने अनि विरोध गर्न पनि नपाइने,’ गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले खबरहबसँग भने, ‘मन्त्रिपरिषद्ले सरकारी चिकित्सक चाहिँदैन भनेर निर्णय गरोस् हामी तुरुन्तै राजीनामा दिन्छौं ।’

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ मातहतमै हुनुपर्ने माग राख्दै उनीहरुले आइतबार (आज) पनि देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेको सेवा बन्द गराएका छन् ।

यता सरकारले भने प्राविधिक त्रुटी बाहेक चिकित्सकको माग अनुसार समयोजन हुन नसक्ने बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना, प्रविधि मन्त्री गोकुल बास्कोटाले डाक्टरहरुको माग सम्बोधन नहुने बताए ।

‘अस्पताल नै नभएको ठाउँमा चिकित्सकको दरवन्दी परेको भए त्यस्तो प्राविधिक त्रुटी सरकारले सच्याउँछ, तर डाक्टरहरुको गाउँ जादैनौं भन्ने मागप्रति सरकारले सहानुभूति पनि प्रकट गर्दैन,’ मन्त्री बास्कोटाले खबरहबसँग भने, ‘अस्पताल बन्द गरेर आन्दोलन गर्ने चिकित्सकप्रति सरकार सहमत हुन सक्दैन ।’

आन्दोलनरत चिकित्सकहरु

सरकार र चिकित्सकको आ–आफ्नो अडानका कारण बिरामीहरु भने मर्कामा परेका छन् ।

‘स्वास्थ्य सेवा सर्वव्यापी पहुँ, सवैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज (बिहीबार) यो दिवस नेपालमा मनाइँदै छ । तर यो नाराले बिरामी भएर उपचारका लागि अस्पताल पुगेर पनि उपचार पाउन नसकेका बिरामीलाई जिस्काइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>