खेलकुद
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

कर्णाली, मंसिर १२ –
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यस जितसँगै गण्डकीले दुई अङ्क जोडेको छ ।
टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रनमा समेटेको थियो ।
एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा पाँच चौका प्रहार गरे । नवीन तामाङले २३ बलमा २६ र आदित्य महताले १४ बलमा २३ रन जोडे । कप्तान कमलसिंह ऐरी सात रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक पाँच रनमा अविजित रहे ।
जवाफमा १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
गण्डकीका ईश्वर क्षेत्रीले २७ बलमा दुई चौका र तीन छक्कासहित ३२ रन बनाए । वंश क्षेत्रीले अविजित २९ रन जोड्ने क्रममा २७ बलमा तीन चौका प्रहार गरे । त्यस्तै, सिब्रिन श्रेष्ठले १३ बलमा २४ र सन्दीप खत्री क्षेत्रीले नौ बलमा १४ रन बनाए । रोहित चन्द एक रनमा अविजित रहे ।
यसअघि गण्डकी समूह चरणको पहिलो खेलमा मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।


























