प्रवास
स्पेनमा आप्रवासी बोकेको डुङ्गामा १४ जनाको शव फेला

स्पेन, मंसिर १२-
स्पेनको क्यानरी टापुनजिक आप्रवासी बोकेको डुङ्गाबाट १४ जनाको शव फेला परेको छ। डुङ्गामा करिब १०० जना सवार रहेको र उद्धारपछि मृतकको सङ्ख्या पुष्टि भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
स्पेनको समुद्री उद्धार सेवाले यसअघि डुङ्गामा ८ देखि १० जनाको शव फेला परेको र गम्भीर अवस्थामा रहेका ६ जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको जनाएको थियो। उक्त डुङ्गा एल हिएरो टापुको दक्षिणतर्फ ३९ समुद्री माइल ९करिब ७२ किलोमिटर० दूरीमा फेला परेको थियो। त्यसलाई ला एस्टाका बन्दरगाहसम्म तानेर लगिँदै थियो।
यसैबीच, अर्को डुङ्गाबाट ८४ जना जीवित आप्रवासी ला रेस्टिङ्गा बन्दरगाहमा ओर्लिएका थिए । त्यहाँ आप्रवासीका लागि स्वागत केन्द्र तथा अस्थायी अस्पतालसमेत सञ्चालनमा छन्।
क्यानरी टापुमा आप्रवासीको आगमन पछिल्लो समय तीव्र बनेको छ। नोभेम्बर २५ मा एकै दिन २ हजार १०० जना आप्रवासी आइपुगेका थिए, जुन एक दिनमा भएको अहिलेसम्मकै उच्च आगमन हो । अधिकांश एल हिएरो टापुमा पुगेका थिए। उक्त टापुको जनसङ्ख्या करिब ११ हजार ४०० छ।
क्यानरी टापुका क्षेत्रीय प्रमुख फर्नान्डो क्लाभिहोले पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै स्पेन सरकार र युरोपेली आयोगसँग तत्काल कदम चाल्न आग्रह गरेका छन् । उनले आप्रवासन सङ्कटको सुरुवात क्यानरी टापुमा नभई सेनेगल र गाम्बियाको तटीय क्षेत्रमा हुने भन्दै त्यहीँबाट समाधान खोज्नुपर्ने बताएका छन्।
स्पेनमा आइतबार हुने आमनिर्वाचनअघि आप्रवासन प्रमुख चुनावी मुद्दा बनेको छ। प्रधानमन्त्री पेद्रो सान्चेज आप्रवासनले अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने पक्षमा छन् भने दक्षिणपन्थी दलहरूले आप्रवासन नियन्त्रणलाई थप कडा बनाउनुपर्ने माग गरिरहेका छन्।
हरेक वर्ष हजारौँ मानिस जोखिमपूर्ण एटलान्टिक समुद्री मार्ग हुँदै स्पेनी भूभाग पुग्ने प्रयास गर्छन् । अत्यधिक भीड भएका डुङ्गा, खराब मौसम, समुद्री छाल र तीव्र धारका कारण यो मार्ग विश्वकै सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक मानिन्छ। शरद ऋतुमा समुद्री अवस्था तुलनात्मक रूपमा अनुकूल हुने भएकाले यस अवधिमा आप्रवासीको आगमन बढ्ने गरेको छ। एजेन्सी


























