राजनीति
गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

सुनसरी, मंसिर १२ –
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभयो ।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो ।
त्यसअवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराउनुभएको थियो ।
त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिनुभयो । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभयो । उहाँ आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।


























