Breaking News
‘हार्ने डरले’ स्ववियु निर्वाचन चाहँदैनन् चितवनका विद्यार्थी संगठन

वसन्त ढुंगाना,
चितवन, चैत ४-
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हरेक दुई वर्षमा हुने व्यवस्था छ । सोही अनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा चैत ५ गते निर्वाचन तोकिएको छ । तर, चितवनका अधिकांश क्याम्पसमा पछिल्लो १६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।
यसवर्ष पनि यहाँका अधिकांश क्याम्पसमा तोकिएको समयमा निर्वाचन नहुने भएको छ । स्ववियुको चुनावी प्रक्रियामा असन्तुष्टि जनाउँदै विभिन्न पाँच विद्यार्थी संगठनले स्ववियु निर्वाचन हुने क्याम्पसमा तालाबन्दी गरेपछि यहाँका तीन वटा क्याम्पसबाहेक अन्य क्यापसमा मंगलबार (भोली) निर्वाचन नहुने पक्का भएको हो । जिल्लामा तीन आङ्गिक र १४ पब्लिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै थियो ।
स्ववियु निर्वाचन हुने चितवनका १७ वटै क्याम्पसमा उम्मेदवार मनोनयन समेत भइसकेको अवस्थामा नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियु, जसपा निकटको समाजवादी विद्यार्थी युनियन, विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल समाजवादी, नेकपा बहुमतनिकटको अखिल क्रान्तिकारी र लोसपानिकटको लोकतान्त्रिक विद्यार्थी संघले तालाबन्दी गरेका छन् । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शारदानगर बहुमुखी क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पस बाहेक अन्य क्याम्पसमा ताला लागेका छन् ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत सोमबार साँझ सात बजेसम्म निर्वाचन अनिश्चित रहेको निर्वाचन समितिका संयोजक दयाराम पौडेलले बताउनुभयो । ‘हामी निर्वाचन गराउने पक्षमा छौँ । केही विद्यार्थी संगठन निर्वाचनको पक्षमा देखिँदैनन्,’ पौडेलले भन्नुभयो ‘अहिले बैठक बसिरहेको छ ।’ वीरेन्द्र क्याम्पसमा विद्यार्थीले लगाएको ताला सोमबार बिहान प्रहरीले खोलेको थियो ।
सप्तगण्डकी बहुमुखी क्याम्यसका प्रमुख खिमलाल दाहालले तोकिएको समयमा निर्वाचन गराउन नसकिएको बताउनुभयो । ‘मनोनयन दर्ताका क्रममा विद्यार्थी संगठन आएर ताला लगाउनुभयो’, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा निर्वाचन गराउन सकेनौँ ।’ उहाँले विद्यार्थी संगठनहरु सहमतिमा आएर ताला खुलेको अवस्थामा केही समयपछि निर्वाचन गराउन सकिने बताउनुभयो ।
‘स्ववियुको निर्वाचन मंगलबार नहुने भयो । अहिलेलाई हामीले स्थगित भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘सहमति भएर निर्वाचनको वातावरण बन्यो भने १५ दिनभित्र निर्वाचन गर्न सकिन्छ ।’ उहाँले निर्वाचनको वातावरण बनाउन समेत आन्दोलनरत विद्यार्थीलाई आह्वान गर्नुभयो । चितवनका ठूला कलेजहरु वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी कलेज, मैयादेवी कन्या कलेजलगायतका क्याम्पसमा विसं २०६५ सालयता निर्वाचन हुन सकेको छैन । विद्यार्थी संगठनहरुले हार्ने डरका कारण प्रत्येक स्ववियू निर्वाचनमा तालाबन्दी गर्ने गर्दछन् । यसपटक विद्यार्थी संगठनले सोही प्रकृया दोहो¥याएको देख्न सकिन्छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनका कार्यवाहक सभापति प्रकाश भण्डारीले नेपाल विद्यार्थी संघ निर्वाचनको पक्षमा रहेको बताउनुभयो । ‘हामी निर्वाचनको पक्षमा हो’, उहाँले भन्नुभयो, ‘हामीले तालाबन्दी गरेका छैनौँ ।’ यद्यपि निर्वाचनको माग गर्दै नेविसंघले कतै विज्ञप्ती समेत जारी गरेको छैन ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) चितवनका अध्यक्ष हरि आचार्यले ताला लगाएका क्याम्पसमा निर्वाचन गराउनुपर्ने धारणा राख्नुभयो । ‘चितवनमा मंगलबार त निर्वाचन हुने अवस्था भएन,’ उहाँले भन्नुभयो ‘केही समयपछि भएपनि निर्वाचन गराउनुपर्दछ ।’ शैक्षिक संस्थाहरुमा तालाबन्दी नगर्ने अनेरास्ववियुको केन्द्रीय नीति रहेको समेत बताउनुभयो ।
चितवनमा तीन ठूला राजनीतिक दल निकट विद्यार्थी संगठनले दुई सयभन्दा कम विद्यार्थी रहेको क्याम्पसमा निर्वाचन नगरी सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सहमती गरेका थिए । सो सहमतीमा साना पार्टीका विद्यार्थी संगठन थिएनन् । उनीहरुले असन्तुष्टि जनाउँदै जिल्लाभर तालाबन्दी गरे । त्यसमा ठूला पार्टीका विद्यार्थी संगठनले पनि भित्री रुपमा सहयोग गरेको देखिन्छ । निर्वाचनको माग गर्दैै यी संगठनले प्रेस विज्ञप्ती समेत निकालेका छैनन् ।
नेकपा (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष सुशन पौडेलले सबै संगठनलाई साथमा लिएर निर्वाचन गर्नुपर्ने बताउनुभयो । ‘हामी अहिले सरकारको प्रतिपक्ष नै हौँ । तर, निर्वाचन गराउनुपर्छ भनेर लागिरहेका छौँ’, उहाँले भन्नुभयो ‘सबै संगठनलाई पनि साथमा लिएर जानुपर्छ भन्ने हाम्रो संगठनको धारणा हो ।’ जिल्ला प्रशासन कार्यालय चितवनमा यहाँका अधिकांश विद्यार्थी संगठन तथा राजनीतिक दलले स्ववियु निर्वाचन गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यद्यपि पालना नभएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल बताउनुहुन्छ । ‘हामीले फागुन २५ गते निर्वाचनको वातावरणलाई सहज बनाउन विद्यार्थी संगठनलाई ल्याएर छलफल समेत गरेका थियौँ । ‘उहाँहरु सबैले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘निर्वाचन गराउने अधिकार हामीलाई छैन । तर क्याम्पस प्रशासनले निर्वाचन गराउनका लागि सुरक्षा माग गरेमा सुरक्षा दिन तयारी अवस्थामा छौँ ।’