खेलकुद

भरतपुरमा मेयर कप अन्तरविद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक

Banner

चितवन, वैशाख २३-

भरतपुर महानगरपालिकामा वैशाख २८ गतेबाट सुरु हुने अन्तरविद्यालय मेयर कप फुटबल लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।

महानगगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको सह–आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तालिका सार्वजनिक गरेको हो ।
लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२\१२ विद्यालय रहेका छन् ।

सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन वैशाख २८ गते भरतपुर–७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउँसो ४ः३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् ।

कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो ।

मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो ।

यसैबीच सोही कार्यक्रममार्फत् प्रशिक्षकलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवम् चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>