देश/प्रदेश

पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग

Banner

भेरीगङ्गा (सुर्खेत), वैशाख १६-

आफ्नो पहिचानसहित नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले माग गरेका छन् । निलहिरा समाजले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनीहरुले यस्तो माग गरेका हुन् ।

संविधानले स्पष्ट व्यवस्था गरे पनि राज्यले आफूहरुको पहिचान खुल्नेगरी नागरिकता दिन नसकेको भन्दै उनीहरुले नागरिकताका सवालमा आफुहरु विभेद्मा परेको बताएका हुन् । कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै निलहिरा समाजका अधिकृत भक्ति शाहीले आफ्नो पहिचान खुल्नेगरी नागरिकता लिन आफुहरुले धेरै प्रक्रिया पुरा गर्नुपरेको बताउनुभयो । “आफ्नो पहिचान खुलाउन पनि सर्जरी गर्नुपर्ने, त्यसमा ठूलो रकम लाग्छ, त्यो काम पनि नेपालमा हुँदैन । अनि अस्पतालको प्रमाणित चाहिने, अस्पतालले दिएको प्रमाण लिएर वडा कार्यालयमा सिफारिस लिन जानुपर्ने झन्झट छ,” –उहाँले भन्नुभयो ।

आफुहरुलाई पहिचानसहित जिउन सक्नेगरी वातावरण तयार गर्न माग गर्दै तीन तहकै सरकारले यसमा पहल गर्नुपर्नेमा अधिकृत शाहीले जोड दिनुभयो । नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए पनि त्यस्तो विवाह अस्थायी दर्ता हुने गरेको भन्दै यसमा पनि संशोधन आवश्यक रहेको उहाँको भनाइ छ । यता, वीरेन्द्रनगरका जनप्रतिनिधिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सन्दर्भमा अहिले पनि बुझाइ कमजोर रहेको भन्दै यसले विभेदलाई प्रश्रय दिएको बताएका छन् ।

विभेद् कम गर्न र उनीहरुको पहिचानसहित खुल्ला रुपमा हिँडडुल गर्न पाउने वातावरण निर्माणका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याएका छन् । वीरेन्द्रनगर– १ का वडाध्यक्ष दीनेश खत्रीले संविधान र ऐन कानुनमा भएका जटिलतालाई हटाएर सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने भन्दै आगामी वर्षदेखि वडाको बजेटमा उनीहरुलाई समेट्ने प्रतिबद्धता जनाउनुभयो । वीरेन्द्रनगर–८ नं वडाध्यक्ष टीकाराम शर्माले पनि सबै समुदायलाई समान सहभागिताको परिकल्पना संविधानले गरेको भन्दै यसको कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले आफ्नो वडामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहेको बताउँदै उनीहरुलाई समेट्न केही कार्यक्रम यो वर्ष पनि राखिएको बताउनुभयो । आगामी वर्षदेखि यो समुदायको अधिकारका लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने उहाँको प्रतिबद्धता छ । कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>