चितवन विशेष
सनराइज सहकारीको ‘तनाव’मा थिए चितवनका निर्मल, सलको पासो लगाएर झुण्डिए

चितवन,बैशाख २९-
चितवनको भरतपुर महानगरपालिका–१४ बरौजीमा रहेको चौधरी टोलका २४ वर्षीय निर्मल कुमार महतोले आफ्नै कोठामा मृत भेटिए। गत बिहीबार (२७ गते) बिहान ९ बजेतिरको समयमा उनी आफैँ सुत्ने कोठाको पंखामा भुण्डिएको अवस्थामा फेला परेका हुन्। अघिल्लो दिन अर्थात् बुधबार साँझ सँगै खाना खाएर सुतेको छोराले भोलिपल्ट बिहान अबेरसम्म ढोका नखोलेपछि निर्मलका बाबु गौरीमान महतोले ढोका ढकढक्याए। तर निर्मलले कुनै प्रतिउत्तर दिएनन्।
गौरीमानको मनमा चिसो पस्यो। ढोकाको सानो प्वालबाट चिह्याएर हेर्दा निर्मल पंखा सलको पासो लगाएर भुण्डिएको अवस्थामा देखिए। गौरीमानले अत्तालिएर परिवारका अन्य सदस्यलाई बोलाउँदै ढोका फोडिदिए। भित्र जाँदा छोरा निर्मल मृत अवस्थामा भेटिए। छोराले किन आत्माहत्या गर्यो भन्ने सुइँको परिवारले अहिलेसम्म् पाउन सकेका छैनन्। यद्यपि, शंकाको सुई भने निर्मलले केही समय अघिसम्म काम गर्दै आएको सनराइज सहकारी संस्थातिर तेर्सिएको छ। विगत ३/४ बर्ष अघि देखि नै उक्त सहकारीमा काम गर्दै आएका निर्मल पूर्व कर्मचारी हुन्। सहकारीमा समस्या देखिन थालेपछि उनले जागिर छाडेका थिए।
भरतपुर नगरपालिका–१२ मा मुख्य कार्यालय रहने गरेर ०६६ भदौ ११ मा यो सहकारी दर्ता भएको थियो। बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर महानगरपालिका–३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालनमा रहेको यो संस्थाले अन्य दुई ठाउँ चनौली र विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो।
बचतकर्ताहरूको रकम सहकारीले फिर्ता दिन नसकेपछि आन्दोलित भएका हरूले निर्मललाई पनि उत्तिकै तनाव दिने गरेको पारिवारिक स्रोत बताउँछ। उनकै नजिकका नातेदारहरूको समेत बचत रहेको कारण निर्मल आफैँ चिन्तामा थिए। सहकारीकै कारण निर्मलले आत्माहत्याको बाटो रोजेको हुन सक्ने शंका परिवारले गरेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजाल घटनाबारे अनुसन्धान भइरहेको बताए। मृतकको साथबाट आइफोन र एनरोइड मोबाइल फेला परेको छस सुसाइट नोट फेला परेन। प्रहरी प्रवक्ता रिजालले भने, ‘उक्त दुवै मोबाइल मृतकले नै चलाउँदै आएको भन्ने जानकारी परिवारले दिएका छन्। उक्त मोबाइललाई डिजिटल फरेन्सिक ल्याबमा पठाउँछौं। त्यसबाट पनि घटनाको बारेमा थप केही जानकारी आउला।’
सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य खुल्ने उनले बताए। निर्मलका बुवा गौरीमानले प्रहरीसँग भनेका छन्, ‘अघिल्लो रातको ९ बजेतिर कोठामा चर्को स्वरमा फोनमा कुरा गरिरहेको थियो। हामीले राति राति पनि कोसँग झगडा गरेजस्तै चर्को स्वरमा कुरा गरेको भनेर हप्कायौँ।’निर्मलको शवको पोष्टमार्टम रिर्पोट पनि आत्माहत्या नै भएको आएको र परिवारले शवको दाहसंस्कारमा जुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।