चितवन विशेष

नारायणी तटबन्धको मेयर रेनु दाहालद्वारा अनुगमन, ४० प्रतिशत काम सम्पन्न

Banner

चितवन, वैशाख १६-

नारायणी तटबन्धको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।

वर्षात्को समय नजिक आएसँगै महानगरले तटबन्धनको निरीक्षणमा सक्रियता देखाएको हो ।

तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलब ९९ प्रतिशत हो ।

आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्ररुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे जानकारी लिएकी थिइन् । तटबन्धका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीव्ररुपमा अघि बढेको छ ।

निरीक्षण पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् ।
अहिले अधिकांश विकास निर्माणको काममा ढिलासुस्ती भइरहे पनि तटबन्धको काम सन्तोषजनक रहेको उनको भनाइ छ ।
पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन् ।

तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डीपीआर निर्माण गरेको उनले उल्लेख गरिन् । तटबन्धको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन् ।

तटबन्धको कार्यले निरन्ता दिँदै गएपछि भरतपुरका लागि ठूलो उपलब्धि हुने उनको भनाइ छ । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलब ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तिको लागि मुआब्जाको प्रावधान नरहेको कारण निःशुल्क जग्गा प्राप्तिमा बाधा हुने गरेको प्रमुख साहले बताए ।

गुरुयोजना अनुसार बजेट बिनीयोजन नहुँदा लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नसकेको उनले उल्लेख गरे । तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर एक अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । दोस्रो प्याकेज ५ किलोमिटरकै गाँजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ ।

सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । करिब चार हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब एक लाख जनता लाभान्वित हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>