चितवन विशेष

एकिकृत मुगई सिंचाई परियोजना अलपत्र, ठेक्का सम्झौता तोड्ने डिभिजनको चेतावनी

Banner

चितवन, वैशाख १५-

ठेकेदार कम्पनीको लापरवाहीले माडी नगरपालिका भित्र पर्ने एकिकृत मुगई सिंचाई तथा तटबन्धन परियोजना अलपत्र परेको छ । सपना शिवशक्ति कन्ट्रक्सनले लापरवाही गर्दा परियोजनाको काम अलपत्र बनेको हो ।

२०७७ असोज २२ सम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्ने गरि २०७४ असोज २३ गते सम्झौता भएको सो परियोजनामा हालसम्म ६१ प्रतिशतमात्र काम भएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सिंचाई डिभिजन चितवनले पटक पटक निर्देशन दिंदासमेत निर्माण कम्पनीले नटेर्दा परियोजना अलपत्र बनेको सरोकारवालाहरुको भनाइ छ । ७ सय ७७ हेक्टरमा सिंचाई हुने सो परियोजना सम्पन्न भएमा १ हजार ३ सयभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ ।

तोकिएको समयभन्दा तीन वर्ष ढिलो हुँदासमेत परियोजनाको काम सम्पन्न नहुनाको कारण पेस गर्न जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवनले सोमबार निर्देशन जारी गरेको छ । तीन दिन भित्र ठोस प्रमाणसहित उपस्थित नभए नियमानुसार ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी समेत डिभिजन कार्यालय दिएको छ ।

माडी नगरपालिका २, ४, ५ र ६ वडालाई समेट्ने सो परियोजनाको काम अविलम्ब सुचारु गर्न पटक पटक फोन तथा पत्रबाट ताकेता गर्दा पनि निर्माण कार्य गर्न कुनै तत्परता नदेखाएकोले अन्तिम निर्देशन दिइएको डिभिजनले जनाएको छ ।

एकिकृत मुगई सिंचाई तथा तटबन्धन परियोजनाको काम समयमै सम्पन्न गराइदिन भन्दै माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतोको नेतृत्वको समुहले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवनमा ज्ञापनपत्र बुझाएको थियो । उपमेयर महतोको नेतृत्वमा वडा नम्बर ४ का वडाध्यक्ष माधव प्रसाद चापागाईँ, ५ का वडाध्यक्ष गणेश घताने, वडा २ का वडाध्यक्ष डण्डपाणी पौडेल, सिंचाई आयोजनाका उपभोक्ता समितिका अध्यक्ष प्रभानन्द तिवारी, माडी–भरतपुर सम्पर्क मञ्चकी अध्यक्ष विष्णु कुमारी क्षेत्रीलगायत उपभोक्ताहरुले ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा समयमै काम नहुँदा निर्माण भएका संरचनामा पनि क्षति हुन सक्ने भन्दै यथशिघ्र काम सम्पन्न गर्ने प्रवन्ध मिलाइदिन ध्यानाकर्षण गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>