अर्थ

ठोरी–केरुङ नाका सहज सञ्चालनको माग राख्दै चितवनका व्यवसायी रसुवामा

Banner

चितवन, वैशाख २५–

उद्योग वाणिज्य संघ–चितवनको भ्रमण टोली ठोरी–केरुङ नाका सहज सञ्चालनको माग राख्दै नुवाकोट हुँदै रसुवामा पुगेको छ ।

वैशाख २४ र २५ गते नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिम सँग भेटघाट गरेर नाका सञ्चालनलाई प्राथमिकतामाम राख्न अनुरोध गरेको हो ।

उद्योगी व्यवसायीको हक हित, संरक्षण र सम्वद्र्धन गर्दै उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्नुका साथै ठोरी केरुङ नाका सहज रुपमा सञ्चालन गर्न पहल गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको संघले जनाएको छ । दुवै उद्योग वाणिज्य संघहरु सँग भएको भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले बागमती प्रदेशको सिमानासँग जोडिएका छिमेकी मुलक भारत र चीनको ठोरी–केरुङ नाका सहजरुपमा सञ्चालनमा ल्याउन सके व्यवसायिक गतिविधि अगाडि बढाउन सहज हुने बताउँदै उनले दुवै नाका सहज सञ्चालनमा आए बागमती प्रदेश एवम् समग्र देशको आर्थिक विकासले फड्को मार्ने बताएका छन् ।

केही समय अगाडि मात्रै भरतपुर महानगरपालिका र माडी नगरपालिकाको समन्वयमा ठोरी नाका सञ्चालनमा आएको जानकारी दिदै उनले यस किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकायसँग पहल गर्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन दुवै संघहरुलाई आग्रह गरेका छन् ।

भेटघाट एवम् छलफल कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले नुवाकोट उद्योग वाणिज्य संघको संक्षिप्त जानकारी दिँदै ठोरी केरुङ नाका सहज सञ्चालन एवम् बाटोको स्तरउन्नतिको लागि उद्योग वाणिज्य संघ–चितवनसँग मिलेर सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताएका छन् ।

भेटघाट एवम् छलफल कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुकसाङ तमाङले रसुवाको बारेमा जानकारी गराउँदै उनले व्यवसायिक समस्याका विषय एवम् ठोरी केरुङ नाका सहज सञ्चालन तथा बाटो बिस्तार गर्नका लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर पहल गर्ने बताएका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य ताराबहादुर कार्की , नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरण सापकोटालगायतले मन्तव्य राखेका छन् ।
छलफलमा ठोरी केरुङ नाका सञ्चालन तथा सडकको स्तरोन्नति गर्ने साथै उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झन्झटिलो कर प्रणालीलगायत लगानीका सम्भावित क्षेत्रहरुका विषयमा तीन वटै उद्योग वाणिज्य संघ बीच साझा धारणा बनाएर समस्या समधानका लागि सम्बन्धित निकायको ध्यानार्कषण गराउने विषयमा प्रतिबद्धता जनाएका थिए । भ्रमणको संयोजन संघका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अध्ययन अवलोकन भ्रमण समितिका संयोजक दाताराम घिमिरेले गरेका हुन् ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठको नेतृत्वमा पूर्वअध्यक्ष कल्याण जोशी, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठलगायत पदाधिकारी कार्यसमिति सदस्य, कर्मचारीसहित २९जनाको भ्रमणमा सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । भ्रमण टोली आज चीनसँगको सिमा नाका रसुवागढी सम्म पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>