चितवन विशेष

भरतपुर महानगरमा मेरो सात वर्षे कार्यकालमा धेरै काम भएको छ: प्रमुख रेनु दाहाल

Banner

चितवन, वैशाख ११-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठूला विकास निर्माणका आयोजना अघि बढेको बताएकी छन् ।

आज परेको लोकतन्त्र दिसको अवसरमा भरतपुर–१२ धनगढा मन्दिर परिसरमा भएको बृहत खुला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठूला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको बिस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अनवरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाइ छ ।

नारायणगढ–बुटवल सडकखण्ड शिलान्यास भइसक्दा पुलचोक गोन्द्राङ सडकको बिस्तारको काम भएको थिएन, संघीय बजेट भए पनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । ‘विमानस्थल बिस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले बिस्तारको काम सुरु भएको छ’ उनले भनिन्, ‘रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरी देशमै ठूलो सन्देश प्रवाह गर्न सफल भयौ ।’ उनले भने, ‘काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ’ उनले भनिन्, ‘काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ । यो छुट्टाउने काम जनताको हो । जनता जनार्दन हुन्छन् ।’

भरतपुरमा आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भइसकेको र बाँकी तीन वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धारणा थियो । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी भयो, मुलुक संघीयतामा गयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>