Breaking News
चितवनका ७ वटै पालिकामा आज कांग्रेसको अधिवेशन, उम्मेद्वारबीच कडा प्रतिस्पर्धा

चितवन, असोज ९–
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (शनिबार) चितवनमा पालिकाहरुको अधिवेशन हुँदैछ । आज विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । उद्घाटन सत्र नभई सिधै निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
निर्वाचनका लागि जिल्लाका सात वटै पालिकाहरुमा मतदान अधिकृतहरु खटि सकेका छन् । निर्वाचनमा यसपटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । भरतपुर महानगरपालिकामा पाँच जनाले सभापतिमा उम्मेद्वारी दिँदैछन् । वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्की निर्वाचनमा होमिएका छन् । यी पाँच जनाबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
यस्तै रत्ननगर नगरपालिकाको सभापतिमा भने दुई जनाको भिडन्त हुँदैछ । वर्तमान सभापति रुपनराज घिमिरेलाई प्रल्हाद सापकोटाले कडा चुनौति पेश गर्ने अनुमान छ । यी दुईले प्यानल नै घोषणा गरि सकेका छन् । त्यस्तै खैरहनी नगरपालिकामा पनि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । वर्तमान नगर सभापति शशी कुमार खनियाँ र गुणराज श्रेष्ठबीच भिडन्त हुँदैछ । यहाँको निर्वाचन पनि रोचक हुने अनुमान गरिएको छ । नयाँ कार्यसमिति चयनका लागि खैरहनीको पर्सा बैंकेटमा २९२ जनाले मतदान गर्नेछन् ।
त्यस्तै राप्ती नगरपालिकामा पनि दुई प्यानल बनाएर चुनावमा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि देवेन्द्र लामा र वर्तमान सभापति नारायण उप्रेतीले प्यानल बनाएर चुनावमा होमिएका हुन् । उनीहरुबीचको निर्वाचन कडा प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।
यस्तै जिल्लाको कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा आजै निर्वाचन प्रक्रिया हुँदैछ । यहाँ पनि दुई प्यानलहरुबीच प्रतिस्पर्धा हुँदैछ ।
कांग्रेस महाधिवेशन अन्तरगत वडा अधिवेशन सकिएपछि आज नगरपालिका/गाउँपालिकाको निर्वाचन हुन लागेको हो ।