मनोरञ्जन

वर्ष समीक्षा – नेपाली सिनेमाले के पायो, के गुमायो ?

Banner

काठमाडौं– यस वर्ष नेपाली सिनेमाको बजार निकै निराशाजनक रह्यो । फिल्मकर्मी र दर्शकले आशा गरेका धेरै फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए । जुन सिनेमालाई समीक्षकले राम्रो भनिदिए, ती सिनेमा हेर्न दर्शक हलसम्म पुगेनन् । दर्शकले अलिकति पत्याएका सिनेमालाई समीक्षकले कमजोर भनिदिए । दर्शकले सिनेमालाई मात्र होइन, समीक्षकका समीक्षालाई पनि पत्याएनन् ।

यसरी हेर्दा यस वर्ष समीक्षक, दर्शक र फिल्ममेकरको ‘धार’ एकनासको रहेन । सिनेमा क्षेत्र आन्तरिक गसिप र गफमै बढ्ता रमायो । सिनेमाको यो वर्षलाई समीक्षकले पनि असफल वर्षका रुपमा अर्थ्याए । यस वर्ष रिलिज भएका ९६ वटा फिल्ममध्ये जम्मा तीन फिल्मले मात्र नाफा कमाए । बाँकी आधा दर्जन सिनेमाले मुस्किलले आफूलाई ‘सुरक्षित’ गरे । बाँकी चलचित्रले फिल्म बनाउँदै डुबाउँदै गरे ।

यस वर्ष तीन फिल्म (निर्माता र वितरकका अनुसार) ‘छक्का पञ्जा ३’, ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’ ले नाफा कमाएका फिल्मको लिस्टमा आफ्नो नाम लेखाएका छन् ।

यस्तै ‘रामकहानी’, ‘इन्टुमिन्टु लण्डनमा’, ‘चंगाचेट’ ‘क्याप्टेन’ र ‘प्रसाद’ले आफूलाई ठूलो मुस्किलले लगानीसम्म उठाएको वितरकहरुको दाबी छ । यी फिल्मले डिजिटल राइट्स र विदेशमा समेत प्रदर्शन गर्दा आफूलाई सुरक्षित राखेका छन् । यी बाहेक अन्य सिनेमा भने ‘डुब्नकै लागि’ बनेझैँ भएको छ ।

तुलनात्मक रुपमा दर्शकले नेपाली सिनेमालाई विश्वास नै गर्न छोडेको देखिन्छ । यस वर्ष वर्षकै प्रतीक्षित मानिएको फिल्म ‘क्याप्टेन’ ले पनि आफूलाई बक्स अफिसमा बलियो साबित गर्न सकेन । नेपालमा चकलेटी अनुहार र सम्भावना बोेकेका भनिएका कलाकारका फिल्मले पनि निकै नै निराशाजनक व्यापार गरे सिनेमा हलमा ।

अभिनेता अनमोल केसी र प्रदीप खड्काको पनि कुनै क्रेज हलमा देखिएन । भलै अनमोल केसीको फिल्म ‘ए मेरो हजुर ३’ वर्षको अन्तिम दिन रिलिज हुँदैछ । सोही मितिमा रिलिज हुने सलिनमान बनिया अभिनित फिल्म ‘यात्रा’ को पनि दर्शकलाई धेरथोर प्रतीक्षा छ ।

राम्रा भएर पनि फ्लप

यस वर्ष रिलिज भएका ९६ वटा सिनेमामा केही चलचित्रले बाहेक सबै चलचित्रले आफूलाई कथामा नै चुकाएका छन् । मेकिङको हिसाबले तारिफ पाएको चलचित्र ‘रोमियो एण्ड मुना’ को समेत स्किृप्टमा दर्शकको असन्तुष्टि रह्यो ।

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

फागुनमा रिलिज भएको फिल्म ‘बुलबुल’ले भने दर्शक र समीक्षकलाई धेरै हदसम्म चित्त बुझायो । तर फिल्मले नाफा कमाउन चाहिँ सकेन ।
यस्तै यसै वर्ष रिलिज भएका फिल्म ‘प्रसाद’, ‘हरि’ र ‘साँइली’ ले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाए । यद्यपि यी कुनै फिल्मले पनि बक्स अफिसमा कमालको व्यापार गर्न सकेनन् ।

किन असफल फिल्म ?

नेपालमा रिलिज भएका धेरै फिल्महरु मेकिङका दृष्टिले निकै कमजोर देखिए । तुलना गर्ने हो भने वर्षभरि रिलिज भएका फिल्ममध्ये धेरै फिल्म असफल रहनुको मुख्य कारण फिल्मको कथा र मेकिङ रह्यो ।

दर्शकले चाहेजस्ता फिल्म फिल्ममेकरले बनाउन नसक्दा दर्शकले कलाकारलाई दिने सम्मान पनि उत्तिकै कम देखियो । अर्कातिर यस वर्ष रिलिज भएका धेरै फिल्मले राम्रा फिल्म निर्माण गर्नुको साटो बढी मिडियाबाजी गरे । यसको प्रभाव दर्शकमा समेत पर्‍यो । जुन दर्शकले नेपाली सिनेमालाई माया गरेका थिए, ती दर्शकले पनि फिल्मप्रतिको विश्वास गुमाउँदै गए ।

जम्न सकेनन् डेब्यु ‘गर्ल्स’

यस वर्ष नेपाली सिनेमामा विगतका वर्षमा जस्तै नयाँ कलाकारको सानोतिनो बाढी नै आयो । नायकलाई महंगो पारिश्रमिक दिने र नयाँ नायिकालाई डेब्यु गराउने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा ‘दूबो’ बन्यो ।

यस वर्ष २८ जना नायिकाहरु फिल्म क्षेत्रमा आए । ती मध्ये निकै कमले मात्र सम्भावना देखाए । फिल्म ‘ब्रेकअप’बाट शिल्पा मास्के, ‘जानी नजानी’बाट निरीषा बस्नेत, ‘रणवीर’बाट शुभेच्छा खड्का, ‘क्याप्टेन’बाट उपासना सिंह ठकुरीलाई बलियो सम्भावना भएका नायिका भनियो ।

अन्य डेब्यु नायिकाले फिल्म दर्शकलाई गतिलो प्रभाव पार्न सकेनन् । यसै वर्ष फिल्ममा डेब्यु गरेका दुई नायिका सुहाना थापा र मलिका महतको फिल्म भने वर्षको अन्तिममा रिलिज हुँदैछ ।

पारिश्रमिकका गसिप, अभिनय झन् झुर

यस वर्ष फिल्म क्षेत्रमा कलाकारले लिएको पारिश्रमिकले पनि सिनेमा क्षेत्रमा धेरैको ध्यान खिच्यो । कतिपय फिल्मकर्मीले राम्रा नायिकाभन्दा धेरै पारिश्रमिक लिएका कलाकारलाई आफ्नो फिल्ममा लिन चाहे । यस वर्ष अनमोल केसी र प्रदीप खड्काको पारिश्रमिक जोडेर सबैभन्दा धेरै हल्ला फैलाइयो । अर्कातिर नायिकामा पनि पारिश्रमिकको दौड वर्षभरि नै रह्यो । केही नायिकाहरु १६ लाख पारिश्रमिक लिएर नम्बर वान हुने दौडमा लागे ।

पारिश्रमिकसँग जोडिएका यी नायक–नायिकाको अभिनयको भने खासै चर्चा भएन । पारिश्रमिक कलाकारको ‘अनुहार’ हेरेर दिएको भन्ने आरोप पनि फिल्म क्षेत्रले खेप्नुपर्‍यो ।

चलचित्र समर लभको एक दृश्य

दर्शक किन आएनन् ?

यो वर्ष नेपाली सिनेमाले दर्शक नपाउनुमा फिल्म मात्र कारण बनेन । सामाजिक विशेषताका रुपमा पनि नेपाली फिल्मले आफ्ना घरेलु दर्शक गुमाउँदै लग्यो । यस वर्ष रिलिज भएका धेरै चलचित्रले ‘क्याम्पेनिङ’ गरेर दर्शकलाई हलसम्म डोर्‍याउने जमर्को गरे । तर, दर्शक नेपाली सिनेमाको सट्टा विदेशी फिल्मप्रति बढी आकर्षित भए ।

फिल्म विश्लेषकहरु भन्छन् – नेपाली सिनेमाले आफ्ना दर्शक गुमाइसकेको छ । किनकि, फिल्ममेकरले थुप्रै पटक दर्शकलाई झुक्याइसकेका छन् ।

केही वर्षयता नेपाली फिल्मप्रति तीतो रोष पोखेका दर्शकले यस वर्ष पनि फिल्मलाई साथ दिएनन् । यतिसम्म कि, राम्रा भनिएका फिल्मलाई पनि दर्शकले चासो दिएनन् । जसका कारण नेपाली फिल्म राम्रा भएर पनि ‘गुमनाम’ रहे ।

समीक्षक र दर्शकको अमिल्दो मनोविज्ञान

नेपाली फिल्ममेकरलाई फिल्म बनाइसकेपछि पनि दुई कुराको भयले सताउने गर्छ, दर्शक र समीक्षक । नेपाली दर्शकको मनोविज्ञान र समीक्षकको मनोविज्ञानबीच मेल नखाँदा बनेका धेरै फिल्महरु ‘फ्लप’ को सूचीमा अटाएका छन् । केही फिल्मलाई समीक्षकले वर्षकै राम्रो भन्नु र ती फिल्म सिनेमा हलबाट रिलिजको दुई दिनमै उत्रिनुले यो कुरालाई प्रमाणित गर्छ ।

नेपाली सिनेमा हेर्ने दर्शक अझै पनि टेलिफिल्मको ‘ह्याङओभर’बाट मुक्त हुन सकेका छैनन् । ‘लोजिक’ खोजेर फिल्म हेर्ने दर्शकलाई पनि फिल्मले हलिउड या बलिउड फिल्मले जस्तो ‘मेकिङ’ दिन सकेका छैनन् । जसकारण दर्शक विभाजित भएका छन् ।

समीक्षात्मक रुपमा नरुचाइएको फिल्म ‘छक्का पञ्जा ३’ वर्षकै सर्वाधिक कमाइ गर्ने सिनेमा बन्नु यसको एउटा उदाहरण हो । नेपाली फिल्ममाथि समीक्षकले फिल्मको मेकिङलाई अध्ययन गरे पनि नेपाली दर्शकको मनोविज्ञानको भने सम्बोधन गर्न नसकेको स्पष्ट छ ।

सिनेमाले के पायो, के गुमायो ?

वर्षभरि रिलिज भएका फिल्मको अध्ययन गर्ने हो भने नेपाली सिनेमाले यस वर्ष कम पाएको छ र धेरै गुमाएको छ । फिल्मलाई चाहिने ठूलो सम्पत्ति ‘दर्शक’ नै नेपाली फिल्म क्षेत्रले गुमाइसकेको छ ।

फिल्मले कुनै पनि कथामा ‘रिस्क’ लगाउन सकेको छैन । व्यावसायिक रुपमा जुन फिल्म सफल भयो, सोही फिल्मको ढाँचा नक्कल गर्ने प्रवृत्ति यस वर्ष सबैभन्दा ठूलो समस्या भएर देखा परेको छ । फिल्ममेकरले स्तरीय फिल्म निर्माण गर्ने भन्दा पनि रिलिज मिति घोषणा गरेर हतारमा फिल्म रिलिज गर्न खोज्दा सबैजसो निर्माता घाटाको व्यापारमा चिप्लेटी खेल्नुपरेको अवस्था देखियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>