समाचार
गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ,मङ्सिर ८-
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बी तथा नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै मंगलबार उपराष्ट्रपति यादवले मानव सभ्यताको इतिहासमा गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा सम्मानित रहेको उल्लेख गरेका छन् ।
‘मानव सभ्यताको इतिहासमा गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताको अग्रदूतका रूपमा सम्मानित हुनुहुन्छ । उहाँले मानवतालाई केन्द्रमा राख्दै विविधताबीच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न प्रेरणा दिनुभयो । उहाँका विचारहरुले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यहरूलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणको प्रेरणा प्रदान गर्दछन्,’ उनले भनेका छन् ।
गुरुनानक देवले प्रतिपादन गरेका श्रमको मर्यादा, सत्यनिष्ठ जीवन, ज्ञानको खोजी र साझा हितका मूल्यहरू आजको विश्वमा अझ सान्दर्भिक रहेको उपराष्ट्रपति यादवले बताएका छन् । ‘परिश्रमलाई पूजा, सेवालाई कर्तव्य र मानवतालाई धर्म ठान्ने उहाँको दृष्टिकोणले जिम्मेवार नागरिक निर्माणको प्रेरणा दिन्छ,’ उनको सन्देशमा भनिएको छ ।
शिख परम्पराअनुसार गरिने सामूहिक सेवा, सहभोज, कीर्तन तथा आध्यात्मिक साधनाको अभ्यासले समानता र समावेशिताको उच्च आदर्शलाई जीवित राखेको उल्लेख गर्दै उनले यस्ता मानवीय अभ्यासहरू बहुलतायुक्त नेपाली समाजका लागि समेत प्रेरणादायी रहेको बताएका छन् । एउटै स्थानमा भेला भएर जात, वर्ग, भाषा वा पृष्ठभूमिको भिन्नतालाई गौण बनाउने संस्कारले सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई थप बलियो बनाउने उनको विश्वास छ ।
आज विश्वले शान्ति, सहिष्णुता, नैतिकता र सामाजिक न्यायका विषयमा नयाँ चुनौतीहरूको सामना गरिरहेको सन्दर्भमा गुरुनानक देवका विचारहरूले आपसी विश्वास, संवाद र मानवीय उत्तरदायित्वको संस्कृतिलाई पुनः जागृत गर्न मार्गदर्शन प्रदान गर्ने उपराष्ट्रपति यादवले उल्लेख गरेका छन् ।
उनले यस पर्वले विविधताभित्र एकता, सहकार्य र साझा समृद्धिको राष्ट्रिय संकल्पलाई अझ सुदृढ बनाउँदै सभ्य, समतामूलक, शिक्षित र समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन सबैमा उत्साह मिलोस् भनी शुभेच्छा व्यक्त गरेका छन् ।
























