Breaking News
नारायणी अनलाइनविरुद्ध भ्रम फैलाउने महोत्सव आयोजकले माग्यो माफी, गल्ती नदोहोर्याउने प्रतिबद्धता

चितवन, मंसिर १-
नारायणी नदी किनारमा महोत्सव आयोजना गर्ने भनिएको रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टले नारायणी अनलाइन विरुद्ध भ्रम फैलाएको स्वीकार गरी माफी मागेको छ । विज्ञापन नपाएपछि महोत्सवको बारेमा गलत समाचार प्रकाशन गरेको भनि महोत्सव आयोजकका पदाधिकारीले नारायणी अनलाइनविरुद्ध सामाजिक सञ्जालमा भ्रम फैलाएका थिए । त्यस विरुद्ध नारायणी अनलाइनले नेपाल पत्रकार महासंघको रोहवरमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
उजुरीपछि प्रहरी कार्यालयले सोमबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा नारायणी मिडिया ग्रुपका प्रबन्ध निर्देशक कृष्ण आचार्यले नारायणी अनलाइनले कुनै पनि व्यक्ति वा संस्थासँग बार्गेनिङ नगर्ने स्पष्ट पार्दै सोको प्रमाण देखाउन चुनौती दिएका थिए । एउटा स्थापित मिडियाको प्रतिष्ठामाथि आक्रमण गर्ने प्रयास भएको भन्दै उनले आवश्यक कारबाहीको लागि माग समेत गरे । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका अध्यक्ष विकल क्षेत्रीले आफ्नो कर्मचारीहरु बीच समन्वयको अभाव हुँदा गम्भीर गल्ती भएको भनि क्षमायाचना गरे । आगामी दिनहरुमा विना प्रमाण मिडियाहरु विरुद्ध सार्वजनिक अभिव्यक्ति नदिने उनले प्रतिबद्धता जनाएका छन् ।
नारायणी अनलाइनमा प्रकाशित न्युजको विषयलाई लिएर नारायणी अनलाइनको फेसबुक पेजमा गई इभेन्टका अध्यक्ष विकल क्षेत्री लगायतले मिडिया र पत्रकारितामाथि लगाएको गम्भीर आरोपका विषयमा आफ्नो गल्ती स्वीकार गरी उक्त कमेन्टहरु हटाउने र आगामी दिनहरुमा यस किसिमका क्रियाकलापहरु नदोहो¥याउने भन्दै इभेन्टका तर्फबाट क्षेत्रीले क्षमायाचना गरेका हुन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले समाचारको विषयमा चित्त नबुझे सम्बन्धित निकायमा जानुपर्ने उल्लेख गर्दै मिडियाविरुद्ध भ्रम नफैलाउन चेतावनी दिए । समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने तरिकाहरुबारे उनले स्मरण पनि गराए ।
रेड रक इभेन्टले मंगलबार प्रेस विज्ञप्ति पनि जारी गरेर समन्वय अभाव र असमझदारी उत्पन्न भएको भन्दै समाचार सम्प्रेषण वा पत्रकारिताको व्यवसायिक भूमिकासँग जोड्ने कुनै मनसाय नरहेको स्पष्ट पारेको छ ।


























